Saturday, October 19, 2019

पर्यटन उद्धार छानविन समितिको स्वागत

प्रकाशित मिति: 2018/07/20

काठमाडौं । सरकारले गठन गरेको ‘पर्यटन उद्धार छानविन समिति’ लाई ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले स्वागत गरेको छ ।

उद्धार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सो समिति गठन गरेको हो । उद्धार कार्यलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले आरम्भ गरेको प्रयासको सराहना गर्दै छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता टानले जनाएको छ ।

टानका अध्यक्ष नवराज दाहालले गुणस्तरीय तथा जिम्मेवार पर्यटनबाट मात्रै राष्ट्रिय पर्यटनको विकास हुने तथा समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आधारमध्ये एक पर्यटन नै हुनेछ भन्ने सरकारको नीतिमा आम पर्यटन समुदायको समेत साथ र सहयोग रहने बताउनुभएको हो ।

पर्यटक उद्धार समितिले सत्यतथ्य छानबिन गर्नु अगावै कतिपय सञ्चारमाध्यममा केही स्थापित ट्रेकिङ कम्पनी र टानजस्तो गरिमामय संघका पदाधिकारीको समेत नाम जोडेर प्रकाशित समाचारप्रति टानको ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषणका लागि अनुरोध गरेको छ ।

विषयको गहिराइमा गई सत्यतथ्य उजागर गर्न र सतहीरुपमा भेटिएका उजुरीका आधारमा कसैको आग्रह पूर्वाग्रहका आधारमा पत्राचार नगर्न समितिलाई आग्रह गर्दै पर्यटक उद्धार कार्यको निष्पक्ष अनुसन्धान गर्न पनि टानले माग गरेको छ ।

सरकारले उद्धार क्षेत्रमा देखिएका समस्या समाधान गर्न एक महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पर्यटन उद्धार छानविन समिति गठन गरेको थियो ।

तपाईंको बिचार