Sunday, February 24, 2019

नाटोजको सफा सगरमाथा अभियान सहितको भिटोफ निर्वाचन वहस सम्पन्न

प्रकाशित मिति: 2018/07/24

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले सगरमाथाको सफाईको लागि नेपाल सरकारको विद्यमान ऐन, कानुन र नियमहरु मात्रैको पालना भए पनि सगरमाथाको देखिएको फोहोरको समस्या समाधान हुने बताएका छन् । 

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को भिटोफ निर्वाचन बहस तथा सफा सगरमाथा अभियान कार्यक्रममा बोल्दै उनले सरकारको नियममा प्रत्येक आरोहीले सगरमाथाबाट फर्कदा ८ केजी फोहोर फिर्ता ल्याउनुपर्ने नियमको पालना भए÷नभएको अनुगमन मात्र गर्न सकेपनि धेरै समस्या समाधान हुने बताए । 

मन्त्री बस्नेतले ग्लोबल वार्मिङको कारण हाम्रो हिमालमा परेको वातावरणीय असरहरुबारे इन्टरनेशनल फोरममा प्रष्ट कुरा राख्न सक्नुपर्ने बताए । 
एक अर्को प्रसंगमा सरकारले ‘सुखी नेपाली, समृद्धि नेपाल’ को योजना अगाडि ल्याएको बताउँदै त्यसलाई साकार पार्न सरकारको पहलकदमी मात्र नहुने भएकोले नागरिकहरु पनि जिम्मेवार बन्नुपर्ने बताए । 

त्यस्तै पूर्वमन्त्री तथा सांसद टेकबहादुर बस्नेतले पर्वतीय पर्यटन विकास र विस्तारको लागि आफ्नो पार्टी गुरुयोजनासहित अघि बढिरहेको बताए । 
उनले छिट्टै नै पर्यटन व्यवसायीहरुसँग सहकार्य गरी सगरमाथा सरसफाई अभियानलाई सार्थकता दिने बताए ।
कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले नेपाल गाउँ नै गाउँको देश भएको हुनाले सामान्य स्तरको जनताको आम्दानी बढाउन ग्रामिण पर्यटनको विकासमा ध्यान दिनुपर्ने बताए ।

सापकोटाले सगरमाथा क्षेत्रमा देखिएको फोहोरको सफाईको लागि सरकार, नीजि क्षेत्र र स्वंयम आरोहीहरु पनि लाग्नुपर्ने बताए । उनले भिटोफ निर्वाचनमा सहमतिको नेतृत्वको खोजी आफुले खोजिरहेको समेत बताए ।

त्यस्तै नेपाल र्पतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले आफूहरुले विगत १० वर्ष अघिदेखि सगरमाथा सफाई अभियान चलाइरहेको बताए । 
त्यसैगरी नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य निमानुरु शेर्पाले विश्वभर प्रचार भएजस्तो सगरमाथा क्षेत्र त्यस्तो फोहोर भइनसकेको बताए । उनले विश्वभर सगरमाथा क्षेत्रमा फोहोर भएको भन्ने सन्देश जान नहुने बताए । 

यसैगरी नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले देशैभरी रहेका पर्यटकीय गन्तव्यहरुमा बढ्दै गएको अवैधानिक तथा विकृतिलाई आफूहरुले नजिकबाट नियालिरहेको बताउँदै त्यसको लागि राज्यको ढोका जहिल्यै पनि ढकढक्याइरहने बताए । 

कार्यक्रममा टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०१८ बाट होटल नर्थफिल तथा नेपाली चुलोका प्रबन्ध निर्देशक संघर्ष बिष्टलाई प्रदान गरिएको थियो । त्यस्तै युवा व्यवसायी सम्मानबाट सिर्जन सिंखडालाई सम्मान गरिएको थियो । 

सोही कार्यक्रममा नाटोज सल्लाहकारमा अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका समाजसेवी मंगलदास श्रेष्ठ र युवा पर्यटन व्यवसायी संघर्ष बिष्टलाई मनोनित गरिएको थियो । 

कार्यक्रममा नाटोजकी केन्द्रीय कोषाध्यक्ष कल्पना महर्जनले सगरमाथा सरसफाई अभियानको सचित्र वर्णनसहित प्रस्तुतीकरण गरेकी थिइन् । 

 

 

तपाईंको बिचार