Thursday, July 18, 2019

भिटोफमा व्यवसायीक प्रतिस्पर्धाको लागि म प्रस्तुत भएको छु : अध्यक्षका प्रत्यासी पाण्डे

प्रकाशित मिति: 2018/07/27

साउन, ११ काठमाडौं । गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)को यहि साउन १५ गते हुन गईरहेको निर्वाचनका लागि बासुदेव पाण्डे समुहले समृद्ध भिटोफ निर्माणको लागि आफ्नो समुहको चुनावी एजेन्डा सहित निर्वाचनमा होमिएको छ । विगत १५ वर्ष देखि पर्यटन क्षेत्रमा क्रियाशिल पाण्डेले यसअघि एक कार्यकाल सचिव र वर्तमान कार्यसमितिमा महासचिवको रुपमा रहेर काम गरेको अनुभवको आधारमा नेतृत्वका लागि उम्मेदवारी दिएको बताएका छन् । 

उनले सातै प्रदेशमा भिटोफको शाखा कार्यालय विस्तार र सातै प्रदेशमा नमुना पर्यटकीय गाँउ निर्माण गर्ने योजना अघि सारेका छन् । त्यस्तै बार्षिक रुपमा पर्यटकीय गाँउको विकासका लागि स्थानीयलाई प्रशिक्षण र २, २ महिनामा नयाँ पर्यटकीय गाँउको विकास, ऐतिहासिक र पुरातात्विक गाँउहरुको पहिचान गरि डिजिटलाइन गर्ने, एक गाँउबाट अर्को गाँउ जोड्न ग्रामिण पदमार्गको विकास गर्नुका साथै त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने योजना रहेको बताए । साथै सरकारबाट घोषणा गरिएको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनको लागि सरकार र नीजि क्षेत्रसँग सहकार्य गर्दै काम गर्ने वाचा पनि पाण्डेले गरे । 

उनले विगत लामो समय देखि मञ्चमा रहेर काम गरेको अनुभवको आधारमा नेतृत्व गर्न लागेको भन्दै सहयोगका लागि आह्वान पनि गरे । आफ्नो उम्मेदवारीलाई राजनीतिक रंग दल्ने प्रयास भएको भन्दै पाण्डेले राजनीतिक भन्दा व्यवसायीक प्रतिस्पर्धा अहिलेको बजारको आवश्यक्ता रहेको समेत बताए । 

नुवाकोटको चतुरालेमा जन्मेका पाण्डे नेपाल सोसियल ट्रेक्स एन्ड एक्सपीडिसन, नेपाल सोसियल टूर्स एन्ड ट्राभलका प्रबन्धन निर्देशक हुन भने पोखराको माउन्ट भ्यू र काठमाडौं ठमेलको हाइल्याडर इन होटलका संचालक समेत हुन ।

 

तपाईंको बिचार