Sunday, November 17, 2019

ग्रामीण पर्यटनमा दिईने सेवाको गुणस्तर बढाउन आवश्यक : पर्यटनमन्त्री

प्रकाशित मिति: 2018/07/31

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालमा सरकारले ग्रामीण पर्यटनलाई प्रोत्साहनको नीति लिएको बताएका छन् । मंगलवार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को २२औं वार्षिक साधारणसभा तथा गाउँ पर्यटन दिवसको अवसरमा मन्त्री अधिकारीले सरकारले गाउँ पर्यटनलाई प्रोत्साहनको नीति लिएकै कारण दर्ता र नविकरण बाहेकको अन्य शुल्क नलिएको बताउँदै यो नीति अझै केही वर्ष जारी रहने बताए । ग्रामीण पर्यटनमा दिईने सेवामा गुणस्तर बढाउन आवश्यक रहेको र त्यसका लागि सरकारले छिट्टै होमस्टेहरुका लागि आवश्यक तालिमको व्यवस्था गर्ने मन्त्री अधिकारीले बताए ।

मन्त्री अधिकारीले सरकारको पहिलो चासो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सुधारमा रहेको बताए । आगामी सेप्टेम्बर १ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान ६ बजेदेखि सञ्चालनमा आउने बताए । त्यसैगरि मन्त्री अधिकारीले सरकारले देशभर एक सय वटा नयाँ पर्यटकिय गन्तव्यहरु विकास गर्ने पनि बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री प्रकाशशरण महतले नेपालमा पर्यटन विकासका लागि ठूला र साना पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको बताए । त्यसैगरि नेकपाका केन्द्रिय सदस्य टेकबहादुर बस्नेतले ग्रामीण पर्यटनको विकासका लागि सरकारले उचित योजनाहरु ल्याउनुपर्ने बताए । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रमा कर, भ्याट लगायतका विविध समस्या रहेको भन्दै त्यसको समाधानका लागि पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका अध्यक्ष कमल सापकोटाले ग्रामीण पर्यटनको माध्यमवाट ग्रामीण जनताको स्तर उकास्न मद्दत पुग्ने बताए । उनले नेपाललाई सानो लगानीले नै पनि छिट्टै सम्बृद्धि ल्याउने हो भने ग्रामीण पर्यटन नै त्यसको आधार हुने वताए ।

गाउँ पर्यटन दिवसको अवसरमा कास्कीको कालावाङ घरेली होमस्टेलाई पुरस्कृत पनि गरियो । त्यसैगरि गाउँ पर्यटन सम्बन्धि पत्रकारितामा योगदान पुर्याएको भन्दै अर्थ र व्यापार साप्ताहिकका सम्पादक नविन काफ्ले, माउण्टेन टेलिभिजनका कुमार चौलागाई र ग्रीनपाटीका लोकेन्द्र शाहलाई सम्मान गरियो । आजै भिटोफ नेपालको नयाँ नेतृत्वका लागी ध्रुव सिम्खडा र बासुदेव पाण्डे समुहविच निर्वाचन हुँदैछ ।
 

तपाईंको बिचार