Sunday, February 17, 2019

पाँच वर्ष आन्तरिक उडान गरेका एयरलाइन्सले अन्तर्राष्ट्रिय अनुमति पाउने

प्रकाशित मिति: 2018/08/05

देशभित्र उडान गरिरहेका एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति पाउन सहज भएको छ। पाँच वर्ष आन्तरिक उडान गरिसकेका एयरलाइन्सले खुल्ला प्रतिस्पर्धामा सहभागी हुन योग्य हुने अहिलेको व्यवस्थालाई परिवर्तन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले आन्तरिक एयरलाइन्सलाई विदेश उडान गर्ने अनुमति माग्नसक्ने व्यवस्था गरेको छ।

जहाज नभएका तर लाइसेन्स झोलामा राखेर बस्ने प्रबृत्ति रोक्नको लागि जहाज भएका र उडानसक्ने कम्पनीलाई लाइसेन्स दिने उद्देश्यले नयाँ कार्याविधि बनाइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कष्ण देवकोटाले जानकारी दिए।

अन्तर्राष्ट्रिय उडानमा विदेशी एयरलाइन्सको व्यापार हिस्सा बढ्दै गएको तर नेपाली एयरलाइन्सको उपस्थिति कमजोर रहेको छ। यस्तोमा ९० प्रतिशतभन्दा बढी ब्यापार विदेशीको रहेको छ। अबको पाँच वर्षभित्र यस्तो व्यापार हिस्सा नेपाली एयरलाइन्सको ६० प्रतिशत पु¥याउने सरकारले लक्ष्य लिएको छ।

यही लक्ष्य पुरा गर्न सक्षम एयरलाइन्सले उडान अनुमति पाउने व्यवस्था गर्न लागिएको सचिव देवकोटाको भनाइ छ।

पुरानो कार्यविधिमा सरकारले अन्तर्राष्ट्रिय उडान अनुमति दिन चाहेको खण्डमा खुल्ला प्रतिस्पर्धाबाट अनुमति दिने व्यवस्था थियो। त्यसमा आन्तरिक उडान गरिरहेका एयरलाइन्स र अन्य कम्पनी सहभागी हुन पाउने व्यवस्था थियो।

नयाँ व्यवस्थाले आन्तरिकमा पाँच वर्ष उडान गरिरहेकाले अन्तर्राष्ट्रिय अनुमतिको लागि आवेदन दिनसक्ने छन्। त्यसमा मन्त्रालयले अध्ययन गरी सक्षम ठहर गरेमा अनुमति दिनसक्ने छ। सक्षमता मापन गर्नका लागि व्यावसायिक योजनादेखि हवाईजहाजको संख्यासम्मका निर्धारित मापदण्ड रहेका छन्।

मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट पारित भइसकेको कार्यविधिलाई मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयन हुने छ। कार्यविधि पारित भएपछि मन्त्रालयले पहिलोपटक २ यात्रु बोक्ने र १ कार्गो एयरलाइन्सका लागि खुल्ला प्रस्ताव आव्हान गर्ने छ। जसमा इच्छुक कम्पनीहरु सहभागी हुने छन्। आएका प्रस्तावलाई मन्त्रालयले गठन गरेको समितिले अध्ययन गरेपछि २ अन्तर्राष्ट्रिय एयरलाइन्स थप हुने छन् भने एउटा कार्गो एयरलाइन्स पनि थप हुने छ। त्यसरी पाएको लाइसेन्सवको अवधि ३ वर्षको हुने छ।

अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पाउने दुईवटा बाटो  हुने छन्। सरकारले खुल्ला प्रतिस्पर्धाबाट दिने र अर्को पाँच वर्ष आन्तरिक उडान गरेपछि स्तरोन्नती हुने।

चुक्ता पुँजी बढ्यो, लाइसेन्सको वर्गिकरण 
पाँच वर्ष आन्तरिक उडान गरिरहेका एयरलाइन्ुसले अन्तर्राष्ट्रिय उडानको लाइसेन्सको लागि आवेदन दिनसक्ने भएपनि त्यस्ता कम्पनीले चुक्ता पुँजी भने बढाउनुपर्ने भएको छ। कार्यविधिअनुसार लाइसेन्सको वर्गअनुसार ५० करोडदेखि १ अर्बसम्म पुँजी जम्म गनर््पर्ने छ।

मन्त्रालयका अनुसार ए, बी र सी वर्गको लाइसेन्स हुने छ जसमा क्रमशः १ अर्ब, ७५ करोड र ५० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने छ। वर्गअनुसार जहाजको उडान तौल र संख्या पनि तोकिएको छ।

मन्त्रालयका अनुसार ए वर्गको लाइसेन्स पाउनको लागि १ लाख २५ हजार टन माथिको टेक अफ वेट भएका ३ वटा जहाज हुनुपर्छ। बी वर्गका लागि ४० हजारदेखि १ लाख २५ हजार टन र सीको लागि ४० हजार टनसम्मको टेक अफ वेटका जहाज हुनुपर्छ।

यो व्यवस्थासँगै अब अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली एयरलाइन्सको संख्या पनि बढ्ने विश्वास गरिएको छ। तत्काल सीता समिट एयरले यसरी स्तरोन्नती हुन पाउनेछन्। 

हाल तीनवटा नेपाली एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। नेपाल एयरलाइन्स, हिमालय र बुद्ध एयरलेमात्र उडान गरिरहेकाछन्। बीबी एयरवेजको लाइसेन्स भएपनि जहाज उडाएको छैन। निलम्बनमापरेको अल्पाइन एयरले लाइसेन्स नविकरणका लागि मन्त्रालयमा निवेदन दिएको छ। 

तपाईंको बिचार