Sunday, February 17, 2019

मनाङ र से फोक्सुण्डोमा लगानी गरिने

प्रकाशित मिति: 2018/08/11

काठमाडौं । मनाङ र से फोक्सुण्डोमा लगानी गर्न पर्यटकीय सम्भावनाको खोजी कार्य सुरु भएको छ । लगानी बोर्डले मनाङमा स्की रिसोर्ट र से फोक्सुण्डोमा लक्जरी रिसोर्टको सम्भावना खोज्ने कम्पनीको छनौट सुरु गरेको हो ।

बोर्डले सार्वजनिक सूचना प्रकाशित गरेर सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुलाई आव्हान गरेको हो । बोर्डले २१ दिनभित्र मनाङमा हिउँ खेल्ने स्की रिसोर्ट, डोल्पाको से फोक्सुण्डोमा लक्जरी रिसोर्ट, कुनै उपयुक्त ठाउँमा शिसा उद्योग, एकिकृत कृषि केन्द्र, शिक्षा, स्वास्थ्य तथा खेलकुद शहर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौट गर्न लागेको हो ।

पाँच करोड भन्दा बढी रकम विनियोजन गरिएको लगानी बोर्डका प्रवक्ता उत्तम भक्त बाग्लेले बताए । सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माणको बाटोमा अघि बढ्ने पनि उनले जानकारी दिए । न्युनतम ६० अंक ल्याउने उत्कृष्ठ ६ वटा आवेदकलाई प्रारम्भिक छनौटमा सहभागी गराइने पनि बोर्डले जनाएको छ ।

नेपाललाई हिमालयन पर्यटन गन्तव्यका रुपमा स्थापीत गर्न स्की रिसोर्ट र लक्जरी रिसोर्ट निर्माण गर्न लागिएको हो । त्यस्तै, शिक्षा स्वास्थ्य र खेलुकदको हबका रुपमा पनि नेपाललाई स्थापना गर्न सकिने देखेरै त्यस्तो शहरको अवधारणा अघि सारिएको पनि बोर्डले जनाएको छ । एकिकृत कुषि केन्द्र र शिसा उद्योगले पनि नयाँ आयाम थप्ने बोर्डको बुझाई रहेको छ ।

तपाईंको बिचार