Sunday, August 25, 2019

सडक अवरुद्ध हुँदा पर्यटकीय गन्तव्य ओझेलमा पर्दै

प्रकाशित मिति: 2018/08/17

रसुवा । भारी वर्षाले पासाङ ल्हामु राजमार्गमा पहिरो खसेको छ । पहिरोले आन्तरिक र बाह्य पर्यटकहरुलाई आवतजावत गर्नमा समस्या भएको छ ।

साथै गोसाइँकुण्ड गाउँपालिका–५ मा सडक अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेको छैन । आवागमन पूर्ण रुपमा बन्द भएको डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले जानकारी दिनुभयो । सडक खुलाउन सयम लाग्ने उहाँले बताउनुभयो । सयौँ सवारीसाधन बीच बाटोमा थन्किएका छन् । 

सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो । सडक अवरुद्ध हुँदा कैलाशमानसरोवर जाने भारतीय तीर्थालु र नेपाल घुम्न आएका चिनियाँ पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् ।

रसुवा नुवाकोट पर्यटन समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछाने भुकम्पले हल्लाएको ठाउँ त्यसमाथि भारी वर्षाले  गर्दा गएको पहिरोले स्थानियसँगसँगै आन्तरिक तथा बाह्य पर्यटकले समेत ठुलो सास्ति झेल्नु परेको बताउनुभयो ।

सरकारले समयमा नै बाटो निमार्ण गर्न नसके अझै समस्या पर्नेछ । विदेशी पर्यटकले दिनहुँको तालिका बनाएर हिँडेका हुन्छन् । यसरी बाटो भत्किदा आफूले सोचे अनुसारको ठाउँहरु भ्रमण गर्न नपाउने गुनासो पनि रसुवा–नुवाकोट पर्यटन समाजमा आउने लामिछानेको भनाइ छ ।

तपाईंको बिचार