Tuesday, April 23, 2019

एक वर्षमा भैरहवामा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा: पर्यटन मन्त्री अधिकारी

प्रकाशित मिति: 2018/08/19

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आज मन्त्रालयमा भएको वाािर्षक कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।

कार्यक्रममा अधिकारीले वर्षको अन्तिम सम्ममा बनाइएका योजना पूरा गर्न सकिएन भनेर त्यसको रकमान्तर गर्ने आयोजना र निकायलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले आफू मातहतका प्राधिकरण, संस्थान र आयोजनाहरु तथा मन्त्रालयका कर्मचारीलाई पुरातन शैलीले काम गर्न निर्देशन समेत दिनुभएको छ ।

“गर्न सकिने काम पनि नियतबस नगरीकनै बसिरहने र अन्तिममा गर्न सकिएन भन्दै फाइल बोकेर मन्त्रालय आउनेहरुलाई कारवाही गरेरै छाड्छौं । हिजोको जस्तो मन्त्री फेरिरहने र नयाँ मन्त्री आएपछि एउटा कुरा भनेर कामहरु अड्काएर राख्ने दिन अब आउने छैन ।” मन्त्री अधिकारीले थप्नुभयो । साथै आफूले निगरानी गरिरहेको संस्थानमा जिम्मेवारीपूर्वक सचेत भएर दृढतापूर्वक पूरा गर्न कर्मचारीहरुलाई निर्देशन दिने उहाँले भन्नुभयो ।

उहाँले एक वर्षमा भैरहवामा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकाएर सञ्चालनमा ल्याउने र त्रिभुवन विमानस्थलको रन–वे पुर्नस्र्थापनाको काम पनि सकाउने दाबी गर्नुभयो ।

रानीपोखरी निर्माणको सम्बन्धमा बोल्दै यसमा अझै विवाद भइरहे मन्त्रालयले नै हस्तक्षेप गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले नरायणहिटीको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने, पर्यटकको तथ्यांक आधुनिक प्रणालीमार्फत राख्ने, पशुपति क्षेत्रलाई व्यवस्थित गर्ने, प्रज्ञा प्रतिष्ठानको सभाहल छिटो सञ्चालनमा ल्याउन पनि निर्देशन दिनुभयो ।

उहाँले पर्यटन मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको काम तीव्र गतिमा अगाडि बढाउन र मुआब्जा लगायतका समस्या छिटो समाधान गर्न पनि सरोकारवालाको ध्यानाकर्षर्ण गर्नुभयो ।
 

तपाईंको बिचार