Sunday, June 16, 2019

अब आन्तरिकतर्फ रात्री उडान- पर्यटन मन्त्रि अधिकारी

प्रकाशित मिति: 2018/09/04
काठमाडौँ । सरकारले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्री उडान गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलबाट साझँ ५ः३० देखि राती ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको जानकारी दिनुभएको हो ।

नेपाल पर्वतारोहण सङघले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले भन्नुभयो–“अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनपछि धेरै परिवर्तन आएको छ । हालै आन्तरिकतर्फ विहान ५ः०० बजेदेखि सेवा दिन सुरु गरिएको छ । अब छिट्टै साँझ ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उडान सुरु हुन्छ ।”
क्षेत्रीय हबका रुपमा रहेका विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्री उडान गरिनेछ । झापाको चन्द्रगढी, जनकपुरलगायत विमानस्थललाई पनि रात्री उडानको लागि प्राविधिक तयारी भइरहेको छ । ट्रंक रुटका विमानस्थलमा पनि अहिले उडानको चाप बढेको छ ।
 
यसअघि आन्तरिकतर्फ विहान ७ः०० बजे देखि साँझ ६ः०० बजेसम्मको उडान तालिका थियो । अन्तराष्ट्रियतर्फ मात्र रात्री उडान हुँदै आएको थियो । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले रात्री उडानका लागि तयारी गरिएको र यही भदौ १६ गते नै विभिन्न एयरलाइन्सको २५ वटा उडान तालिका स्वीकत भएको जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एयरको १४ वटा, श्रीएयरलाइन्सको चार वटा र यति एयरलाइन्सको सात वटा उडान तालिका स्वीकृत भएको छ ।
 
सरकारले गत जेठ ७ गतेदेखि अन्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । आन्तरिक टर्मिनल व्यवस्थापनका लागि यही भदौ १६ गतेदेखि आन्तरिक टर्मिनल विहान ५ः०० बजे खुल्ला गरेसँगै अहिले दैनिक २२ घण्टा विमानस्थल सञ्चालन भइरहेको छ ।
 
पर्यटनमन्त्री अधिकारीले अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतीपछि २४ सै घण्टा विमानस्थल सञ्चालन गरिने  उल्लेख गर्नुभयो ।
 
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई साकार तुल्याउन मुख्य पर्यटकीय पूर्वाधारको रुपमा रहेको अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई तीब्रता दिएको छ । मन्त्री अधिकारीका अनुसार पूर्वाधार विकासलाई तीब्रता दिइएको र सन् २०२० भित्र अन्तराष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने र सन् २०१९ अघिनै भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ ।
 
भ्रमण वर्षको तयारी अघिबढ्यो 
पर्यटनमन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को तयारी एक हिसावले अघि बढाएको र यसलाई सबै संघ संस्थाले सहयोग गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
 
विगतमा पर्यटकको तथ्यांक सही नभएका कारण पनि पर्यटकको संख्या र पर्यटन क्षेत्रको कूल गाहस्थ उत्पादनमा योगदानको यथार्थ विवरण आउन नसकेको उल्लेख गर्दै मन्त्री अधिकारीले ‘पर्यटन स्याटेलाइट एकाउन्ट’को माध्यमबाट तथ्यांक व्यवस्थित गरिने बताउनुभयो ।
 
“पर्यटकीय तथ्यांक व्यवस्थापन गर्दैछौ, सन् २०२० मा लक्ष्य ९२० लाख० भन्दा बढी २५ लाखको हाराहारीमा पर्यटक पुग्नेछन् जसबाट मुलुकको कूल गाहस्थ उत्पादनमा १० प्रतिशत योगदान पुग्नेछ,”–उहाँले भन्नुभयो ।
 
हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियमा ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
 
पर्वतीय पर्यटन युनिक ‘प्रोडक्ट’
सर्वोच्च शिखर सगरमाथा सहितका  अग्ला चर्चित हिमालले नेपालको पर्यटनलाई विश्वबजारमा परिचित गराएको छ । यस्ता हिमालको उचित प्रचार प्रसार र सञ्चालन व्यवस्थापन गरी पर्वतीय पर्यटनलाई युनिक प्रोडक्टको रुपमा अघि बढाइनुपर्नेमा मन्त्री अधिकारीको जोड छ ।
 
सङघको समीक्षा तथा पछिल्लो गतिविधिका बारे जानकारी दिन आयोजित उक्त कार्यक्रममा पूर्व पर्यटनसचिव सुरेशमान श्रेष्ठले समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र नै भएकाले यसको प्रभावकारी प्रवद्र्धनका लागि प्रधानमन्त्रीको संयोजक रहेको उच्च स्तरको ‘पर्यटन क्षेत्र’ सहजिकरण समिति गठन गरिनुपर्ने खाँचो औंल्याउनुभयो ।
 
संघका अध्यक्ष सन्तवीर लामाले सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सार्थक तुल्याउन संस्थाले अन्य पर्यटकीय संस्थासँगको समन्वयमा प्रभावकारी कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो ।

तपाईंको बिचार