Saturday, September 21, 2019

प्याराग्लाइडिङ खेलाडीलाई भव्य स्वागत

प्रकाशित मिति: 2018/09/05

पोखरा । इण्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकूद प्रतियोगितामा मुलुकलाई प्याराग्लाइडिङ खेलमार्फत रजत पदक दिलाउने खेलाडीलाई हीजो पोखरामा भव्य स्वागत गरिएको छ । 

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलाडीलाई पोखरा विमानस्थलमा स्वागत गर्नुभयो । 

प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा सहभागी विजयी खेलाडी बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापालाई उहाँहरुले फूलगुच्छाले स्वागत गर्नुभएको हो । त्यसपछि खेलाडी टिमलाई गाडीमा राखेर पोखरा विमानस्थलदेखि बाजा–गाजासहित नगरका मुस्ताङचोक, विरौटा, ड्यामसाइड, राष्ट्रबंैक चोक, सिर्जनाचोक, नयाँ सडक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकलगायत विभिन्न स्थान हुँदै पोखरा रङ्गशालामा सम्मानका लागि लगिएको थियो । 

नगर परिक्रमाका क्रममा खेलाडी, स्थानीय, जनप्रतिनिधि, समाजसेवीको सहभागिता थियो भने कतिपय नगरवासीले आ–आप्ना घरअगाडि स्वागतका लागि घडा राखेका थिए । 

तपाईंको बिचार