Friday, September 20, 2019

पोखरा ८.५ किलोमिटर लामो केवलकार, ७ अर्ब लागतमा ४ वर्षभित्र सकिने

प्रकाशित मिति: 2018/09/19

पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो ।


पञ्चासेसम्म पुग्ने केबलकार निर्माण गर्न ७ अर्ब लाग्ने अनुमान गरिएको छ । केवलकार चार वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। केबलकारमा ८० पोल राखिनेछ ।

पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ । अहिले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र त्यहाँबाट पैदलयात्रा गरी जाने गर्छन् । त्यस्सैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ ।

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नक केबलकार निर्माण गर्न लागिएको हो ।केबलकार सञ्चालन सँगसँगै घरबास सञ्चालित गाउँको पर्यटन प्रवद्र्धन लागि विभिन्न आयोजना रहेको शर्माले बताए । केबलकार कम्पनीले पञ्चासे लेकभन्दा तल भाडामा जग्गा लिएर जल मनोरञ्जनस्थल, स्थानीय हस्तकला बिक्री केन्द्र, रिसोर्ट, घरबास, प्रेमपार्क, मदिरा सेवन क्षेत्र, पञ्चासे मन्दिरको जीर्णोद्धारलगायतका योजना बनाएको कम्पनीले जनाएको छ ।

पर्वत, स्याङजा, पोखरा, चितवन काठमाडौं लगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी तथा शिक्षक यहाँ आउने गरेका छन् । पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका गुनासो पर्यटकको छ ।

 

तपाईंको बिचार