Thursday, June 27, 2019

कृषि र पर्यटनमा लगानी बढाउनुपर्छ, मन्त्री चौधरी

प्रकाशित मिति: 2018/09/20

कपिलवस्तु। प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशको आर्थिक विकास र समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो ।

शिवराज नगरपालिका–९ शिवगढीलाई बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, कृषिमा आधुनिकीकरण गर्न सिँचाइ र यान्त्रिक प्राविधिमा प्रदेश सरकारले जोड दिएको छ ।”

मन्त्री चौधरीले कृषिमा लाग्न चाहने भूमिहीन किसानलाई सरकारले लिज रकमको व्यवस्था गर्ने बताउँदै प्रदेशका १२ वटै जिल्लास्थित नगरपालिका तथा गाउँपालिकालाई प्रमुख राजमार्गसँग जोड्ने जानकारी दिनुभयो ।

मानव सूचाङ्कको हिसाबले प्रदेश नं ५ पछाडि रहेको र कपिलवस्तु यो प्रदेशमै साक्षर दर निकै कम भएको जिल्ला रहेकाले यस वर्ष यहाँ साक्षर अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

वडा नं ९ का वडाध्यक्ष चुरबहादुर खड्काले पाँच वर्षको प्रयासपछि ३९ वटा सूचक पूरा गर्न सफल भई बालमैत्री स्थानीय शासन वडा घोषणाको गरिएको बताउनुभयो ।

प्रदेशसभा सदस्य अर्जुन केसीले अब जिल्लालाई साक्षर जिल्ला बनाउने गरी विभिन्न कार्यक्रम भएको बताउँदै जिल्लालाई नै बालमैत्री, अपाङ्ग मैत्री र साक्षर बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका सभापति दीर्घनारायाण पाण्डेले शिवराज नगरपालिकाका सबै वडालाई बालमैत्री घोषणा गर्न वडाध्यक्षको ध्यानाकर्षण गराउनुभयो ।

तपाईंको बिचार