Tuesday, August 20, 2019

नेपाल घुम्न आउने पर्यटकको संख्यामा वृद्धि

प्रकाशित मिति: 2018/09/20

काठमाडौं । दुई छिमेकी मुलुकबाट नेपाल घुम्न आउनेहरुको संख्या बढी रहेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष भारत र चीनबाट नेपाल घुम्न आउनेहरुको संख्या बढेको पर्यटन बोर्डले जानकारी दिएको छ।

बोर्डले दिएको जानकारीअनुसार यो वर्षको अगष्टमा अघिल्लो वर्षको तुलनामा भारतीय ३७ प्रतिशतले बढेका छन् भने चिनियाँ ६३ प्रतिशतले बढेका छन्। त्यस्तै दक्षिण एसियाली मुलुक श्रीलंकबाट आउनेहरु पनि ७४ प्रतिशतले बढेका छन्।

बोर्डले दिएको जानकारी अनुसार यो वर्षको जनवरीदेखि अगष्टसम्म ६ लाख ८० हजार ९९६ जना विदेशीले नेपाल भ्रमण गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष २४ प्रतिशतले बढेको पर्यटन यो वर्षको आठ महिनामा १८ प्रतिशतको बृद्धिदरमा कायम रहेको छ।

पर्यटन बोर्डले भारत र चीन केन्द्रित बजार प्रबद्र्धनलाई प्राथमिकता दिएको छ। छिमेकी मुलुक संसारका ठुला पर्यटन बजार रहेको तर नेपालले पर्याप्त आकर्षित गर्न नसकेको आरोप लाग्दै आएको छ।

सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने घोषणा गरेको सरकारले पर्यटक ल्याउनको लागि प्रबद्र्धन र पूर्वाधारमा लगानी बढाउनुपर्ने सुझाव सरोकारवालाहरुले दिंदै आएका छन्।

तपाईंको बिचार