Sunday, February 17, 2019

साईपाल हिमालमा बझाङकी चेली

प्रकाशित मिति: 2018/09/20

बझाङ । बझाङकी चार चेली साइपाल हिमाल चढ्ने तयारीमा जुटेका छन् । अग्ला तथा टाकुरामा विशेष गरि महिलाले जानु हुँदैन भन्ने मान्यताको अन्त्य गर्दै कसैले नचढेको हिमालमा चढेर कीर्तिमान बनाउन लागेका हुन् । ७०३१ मीटर अग्लो साइपाल हिमालमा उनिहरू अक्टेवर १७ चढ्ने छन् । बझाङकी संगीता रोकाया (धुली) लक्ष्मी बुढा (काँडा), सरस्वती थापा (सुनिकोट) र पवित्रा बोहरा (सुर्मा) ले आरोहणको लागि कम्मर कसेकी हुन् ।

संसारकै प्रख्यात आरोहीहरूलाई यस अभियानमा सहभागी गराएर ७ नम्बर प्रदेशलाई विश्वसामु चिनाउने यसको मुख्य लक्ष्य छ । जसको नाम ‘मिसन साइपाल’ राखिएको छ । यस अभियान अन्तर्गत विदेशी पर्वतारोही टोलीसँगै बझाङका स्थानीय चेलीहरूले पनि साईपाल हिमालको आरोहण गर्नेछन् ।
साइपाल प्रदेश ७ तथा सुदुरपश्चिमको अग्लो हिमाल हो, जसको काखैबाट बग्ने गर्दछ सेती नदी । प्राकृतिक सुन्दरताले भरिपूर्ण साइपालको सेरोफेरो यो अभियानले थप चर्चामा आउने विश्वास गर्न सकिन्छ ।
पहिलो पटक चलाइएको यो अभियान केही चुनौतीपूर्ण त अवश्य छ नै तर यसले प्रदेश ७ (विशेष गरी बझाङ) लाई सम्भावनाको ढोका खोल्ने पक्का छ । महिनावारी भएका महिला अथवा उनिहरुसँग लसपस भएको पुरूषले हिमालको आसपास पुगे मात्रै पनि विराजमान देवता रिसाउँछन् र घरपरिवारमा ठूलै अनिष्ट हुन्छ भन्ने अन्धविश्वास रहेको छ । यही मानसिकताले गर्दा हिमालको सौन्दर्यले मन्त्रमुग्ध भए पनि स्थानीयले चढ्ने साहस गर्दैनन् ।
आजभोली हिमाल चढ्ने कुरा सामान्य भइसक्यो । तर यी चार चेलीले बझाङबाट काठमाडौंसम्म आइपुग्दा तीतामिठा थुप्रै कठिनाइ झेले । गत चैतमा समुन्द्री सतहदेखि ४१०० मिटर उचाइमा रहेको साइपाल आधार शिविर जाने दिन गाउँमा रूवाबासी चल्यो । अन्धविश्वासले गाँजिएको समाजका अगाडि छोरीले पनि अवसर पाए चुनौती चिर्दै सफलताको शिखर चुम्न सक्छन् भन्ने देखाउनु चारैजनाको संकल्प हो ।
यसअघिसम्म नेपाल पर्यटन विभागको आधिकारिक जानकारीमा सरकारको इजाजत लिएर कसैले पनि साइपाल आरोहण गरेका छैनन् । दक्षिणी मोहडाबाट साइपाल चढ्न निकै गाह्रो रहेको लेखहरूमा पढ्न पाइन्छ । यही मोहडाबाट साइपाल चढ्ने चेलीहरूले हिम्मत कसेका छन् । मिसन सफल भएमा उनीहरू आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो त हुने नै छन्न् । हिमाल आरोहणको ढोका उघार्ने पहिलो बझाङ्गी पनि हुनेछन् ।
साइपाल प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना हिसाबले पनि धनी छ । तर राष्ट्रिय मुलधारमा खासै चर्चामा छैन । नेपालको पर्यटन उद्योग काठमाडौं र पोखरा उपत्यका, चितवन, खुम्बु र अन्नपूर्ण क्षेत्रमै सीमित छ । नेपालमा विदेशी पर्यटक वर्षमा १० लाख जति आउन थालिसके, तर साइपाल क्षेत्रमा मुस्किलले एक दर्जन पनि पुग्दैनन् ।
उनिहरू यही अक्टोबर १७ मा बेसक्याम्प जानेछन् र साइपालमा ३५ दिन बिताउँनेछन् । उनिहरूको बारेमा ‘मिसन साइपाल’ फिल्म पनि बन्दैछ। जसले देश–विदेशमा प्रचारप्रसार गर्न सघाऊ र्पुयाउनेछ । रारा फिल्मसले समन्वय गरिरहेको छ ।
मिसन सफल भएमा बझाङ्गी चेलीहरू आधिकारीक रूपमा साइपाल चढ्ने पहिलो त हुने नै छन् । हिमाल आरोहणको ढोका उर्घाने पहिलो बझाङी पनि हुने छन् । त्यसो त भीर–पहरा, उकाली–ओराली यी चेलीहरूका लागि कुनै नौलो विषय होइन ।
उनीहरू ७ र ८ वर्षको उमेरदेखि नै प्रत्येक वर्ष तीनदेखि चार महिना यार्सा गुम्बा र जडिबुटी टिप्दै, हास खेल गर्दै ५००० मिटर आसपासको हिमालमा विताएको अनुभव छ । साइपाल आरोहणमा चासो देखाउने १५ मध्ये उत्कृष्ट चारमा छनौट भएका यी चेलीहरूको नाम छनौट भएको हो ।
विश्व विख्यात आरोही डा. जर्ज, एडुर्ने पासावनसँगै आरोहण गर्ने मौका पनि पाएका छन् । डा. जर्ज इगोसिगा र एडुर्ने पासावन संसारका आठ हजारभन्दा माथिका १४ वटै हिमाल चढिसकेका व्यक्ति हुन् ।
अझ महिलामा यी १४ वटा हिमाल चढ्नेमा अहिलेसम्म एडुर्ने एकमात्र पहिलो नाम हो । डा. जर्ज र एडुर्नेसँगै अन्य १२ जना प्रख्यात आरोही पनि यस अभियानमा सामेल हुँदैछन् ।

तपाईंको बिचार