Sunday, February 24, 2019

विमानस्थल अध्ययन गर्न उपसमिति निर्माण

प्रकाशित मिति: 2018/09/29

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका सबै विमानस्थलको अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।

 

समितिका सचिव सुरज दुराका अनुसार पूर्वप्रधानमन्त्री माधव नेपालको संयोजकत्वमा बनेको उपसमितिले दुई महिनामा प्रतिवेदन तयार गर्नेछ ।

उपसमितिमा सांसदहरू दीपकप्रकाश भट्ट, दिव्यमणि राजभण्डारी, चाँदतारा कुमारी र निर्जला राउत सदस्य छन् । दुराका अनुसार उपसमितिले दुई महिनाभित्र विद्यमान अवस्था, सुधार गर्नुपर्ने पक्ष, समस्या समाधानबारे अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ ।


समितिमा शुक्रबार भएको छलफलमा अधिकांश सांसदले निजगढमा विमानस्थल बन्ने सुनिश्चित भएपछि मात्र रुख काट्ने प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएका छन् । नेता नेपालले विस्तृत अध्ययन नगरी हचुवाका भरमा रुख काटेर सहर बसाउन नहुने सुझाए ।

सांसद राजभण्डारीले आफूहरू विमानस्थलको विपक्षमा नरहेको बरु पारदर्शिता अपनाउनुपर्ने बताए । कुन मोडलमा, कति लागतमा र कत्रो विमानस्थल बनाउने भन्नेबारे विस्तृत छलफल र अध्ययन नगरी एकै पटक रूख काट्नतिर मात्र ध्यान दिंदा आफूहरूलाई विश्वास नलागेको उनको भनाइ छ ।

‘विमानस्थल बनाउनु हुन्न भन्ने होइन,’ उनले भने, ‘प्रक्रिया अघि बढाउनुअघि सरकारले बढी हल्ला गरेको देखिन्छ । त्यही भएर हामीले संसद्मा संकल्प प्रस्ताव दर्ता गराएका छौं ।’ कांग्रेस सांसदहरू गगन थापा, राजभण्डारीलगायतले संसदमा निजगढ विमानस्थलसम्बन्धी संकल्प प्रस्ताव दर्ता गरेका छन् । उनले विमानस्थलका विविध पक्षबारे संसद्मा छलफल हुनुपर्ने मागसमेत राखे ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अहिले भनिएजस्तो ८ हजार हेक्टरमा विमानस्थल नबन्ने र त्यति धेरै रूखसमेत नकाटिने दाबी गरे । उनले २५५६ हेक्टरमा विमानस्थल संरचना बन्ने र अन्य भागमा कुनै सहर नबन्ने बताए ।

गत जेठमा वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत निजगढ अन्तर्राष्टिय विमानस्थलसम्बन्धी ईआईए प्रतिवेदनमा भने सहर बसालिने उल्लेख छ । बैठकमा मन्त्री अधिकारीले ईआईए प्रतिवेदनमा भएका विषयकै प्रतिवाद गरे । ‘ईआईए तीन वर्ष लगाएर कन्सल्ट्यान्टले बनाएको हो,’ उनले भने, ‘त्यसलाई वन मन्त्रालयले स्वीकृत गरेको हो ।’ उनले निजगढमा विमानस्थल बनेपछि पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय हब बन्न सक्ने आधार देखेर निर्माणमा जोड दिएको समेत बताए ।

तपाईंको बिचार