Thursday, October 24, 2019

बालाजु–तारकेश्वर क्षेत्रलाई पर्यटकीय हब बनाउने कार्यमा साथ दिन आग्रह सांसद मानन्धरको आग्रह

प्रकाशित मिति: 2018/09/30

काठमाडौं । प्रतिनीधीसभाका सदस्य रामवीर मानन्धरले बालाजु–तारकेश्वर क्षेत्रलाई काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बनाउने सरकारको लक्ष्यमासाथ दिन सम्बन्धित निकाय र स्थानीयवासीलाई आग्रह गरेका छन् । तारकेश्वर नगरपालिका–५ स्थित हरियाली समाजको दोस्रो वार्षिक साधारण सभामा सांसद मानन्धरले यस्तो आग्रह गरेका हुन् ।

यहाँका प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग एवं प्रवद्र्धन गरि उपत्यकाकै आकर्षक नमुना पर्यटकीय हब बनाउने कार्यमा आफूहरु निरन्तर लागिपरेको बताउँदै उनले अहिलेसम्म त्यसै खेर गइरहेका वस्तु एवं प्राकृतिक, ऐतिहासिक धरोहर र धार्मिक सम्पदाको उचित उपयोगको माध्यामबाट सजिलै आन्तरिक एवं विदेशी पर्यटक भित्राउन सकिने दावी गरे ।

अहिले यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि तारकेश्वर नगरपालिकाले स्थानीयवासीको सहकार्यमा केही काम गरेको जानकारी गराउँदै उनले यस नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यस्थलहरुको प्रवद्र्धनसँगै नयाँ ठाउँको पूर्वाधार विकासलाई अघि बढाएर पर्यटक आकर्षित गर्न सकिने बताए ।

अहिलेसम्म यहाँका स्थानीयवासीको सक्रियतामा व्यवस्थित बस्ती विकास र सडक स्तरउन्नतीका काम पनि विस्तारै अघि बढेको जानकारी गराउँदै उनले अब स्थानीय सरकारले जनअपेक्षा अनुरुप अघि बढ्न सक्यो भने मात्र सम्वृद्ध मुलुक र सुःखी नेपालीको लक्ष्यमा सजिलै पुग्न सकिने बताए ।

जसका लागि अझै सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै उनले २०७२ सालमा गएको विनासकारी महाभुकम्पको चपेटामा परेका भूकम्प पीडितले तीन वर्षसम्म पनि घर बनाउने पैसा नपाएकोमा आफुलाई निकै दुःख लागेको बताए । उनले आवश्यक कानुनको अभावले अहिलेसम्म भूकम्प पीडितमाथि यस्तो अन्याय भएको बताए ।

३ नं प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पनि अहिले बालाजु–तारकेश्वर क्षेत्रलाई राजधानीकै पर्यटकीय आकर्षणको हब बनाउन यस प्रदेश सरकारले पूर्वाधार विस्तार एवं सम्भावित पर्यटकीय गन्तव्यस्थलको खोजी र डिपिआर बनाउनका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

उनले तारकेश्वर नगरपालिकाको ४÷५ वडामा देखिएको खानेपानी व्यवस्थापनको समस्यालाई लिएर ३ नं। प्रदेश सरकारले ५० लाख रुपैयाँको बजेट विनियोजन गरेको जानकारी गराए । उनले अब यस क्षेत्रलाई खानेपानी समस्या मुक्त क्षेत्र बनाइने दावी गरे । यसैगरि, उनले ३ नं प्रदेशमा निर्माण कम्पनीहरुसँग सम्झौता भएका सबै सडक निर्माण कार्य समयमा नै सम्पन्न गर्नकालागि पनि यस प्रदेश सरकारले निर्देशक दिएको जानकारी गराए ।

अब थालिएका सडक निर्माणका काममा ढिलाई गर्ने निर्माण व्यवसायीलाई नछाड्ने नीति प्रदेश सरकारले लिएको बताउँदै प्रदेश सभा सदस्य श्रेष्ठले भने, ‘आफ्नो घर टोल नजिक थालिएका विकास निर्माणका गतिविधीमा स्थानीयवासीले पनि चासो राख्नुपर्छ ।’ विगतका वर्षहरुमा जस्तो उपभोक्ता समितिहरुबाट अब खानेपानीको नयाँ लाइन बिस्तार हुने छैन भन्दै उनले अब खानेपाली प्रवद्र्धन विकास बोर्डबाट मात्र खानेपानी व्यवस्थापन गरिने बताए । उनले ३ नं। प्रदेश सरकारले अब यस प्रदेशभित्र खानेपानी प्रवद्र्धन विकास बोर्डबाट मात्र खानेपानी विस्तार एवं व्यवस्थापन गर्ने नीति लिएको बताए ।

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले अहिलेसम्म यस क्षेत्रमा भएका विविध पर्यटकीय पूर्वाधारका गतिविधीहरुबारे जानकारी गराउँदै टेन्डरबाट भएका निर्माणका काम सन्तोषजनक नभएको बताए । उनले अहिलेसम्म स्थानीय उपभोक्ता समितिबाट ५०÷५० प्रतिशत लगानीमा भएका विकासका कामपनि अझै अपेक्षाकृत रुपमा सम्पन्न भएको भन्दै उनले स्थानीय टोल समितिलाई नै जिम्मेवार बनाएर काम गर्न चाहेको बताए ।

हरियाली समाजले अहिलेसम्म आफ्नो क्षेत्र विकासमा गरेको कामको प्रशंसा गर्दै उनले अब यस नगरपालिकाले स्थानीय टोल सुधार समितिलाई नै थप जिम्मेवार बनाएर अघि बढ्ने नीति लिएको बताए । तानपा–५ का वडा अध्यक्ष बासुप्रसाद गौतमले अहिलेसम्म यस क्षेत्रमा भएका विकास निर्माणका गतिविधीहरुबारे जानकारी गराएका थिए ।

हरियाली समाजका अध्यक्ष रविन्द्र पण्डित, उपाध्यक्ष प्रल्लाद खड्का र सचिव कृष्ण खनालले सँधै सरकारको आशा गर्ने मात्र होइन अब आफ्नो बस्ती बनाउन स्यंम आफै जुटुनुपर्छ भन्ने सकारात्मक सन्देश फैलाउन आफुहरुले यस संस्था मार्फत यहाँका स्थानीयवासीको सामुहिक प्रयासमा गरेको नमुना शहरको पछिल्लो अवस्थाकाबारेमा जानकारी गराएका थिए ।

उनीहरुले अझै तारकेश्वर नगरपालिकामा नभएका अन्य विकास निर्माणका कार्यमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए । सोही कार्यक्रममा समाजले तानपाका पूर्व कार्यकारी प्रमुख अग्नीप्रसाद अधिकारी लगायत संस्थाको विविध गतिविधीमा सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो ।

तपाईंको बिचार