Sunday, February 24, 2019

पर्यटकिय स्थल मुक्तिनाथमा यतिवेला श्राद्ध गर्नेको घुइँचो

प्रकाशित मिति: 2018/10/01

  पर्वत  हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रुपमा रहेको हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा तीर्थालुहरुको घुइँचो बढेको छ।

दशैँअगाडि पर्ने पितृ पक्ष (सोह्र श्राद्ध)को अवसरमा स्वर्गीय भएका आफन्तलाई पिण्डदान गर्नेहरुको घुइँचो लागेको हो। मुक्तिक्षेत्रको कागबेनीमा कालीगण्डकी नदीको तटमा पिण्डदान गरेमा दिवंगत आत्मा सन्तुष्ट हुने र स्वर्ग तर्ने विश्वास अनुरुप हरेक वर्ष सोह्र श्राद्धका बेला पिण्डदान गर्नेहरुको घुइँचो लाग्ने गर्दछ। आश्विन कृष्ण पक्ष सुरु भएसँगै १६ दिनसम्म तीर्थालुहरुको घुइँचो लाग्ने मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए। उनका अनुसार सोह्र श्राद्ध सुरु भएयता मन्दिरमा दैनिक ७०० देखि एक हजार जनासम्मले पूजाआजा गरिरहेका छन्। यहाँ जाने तीर्थालुमध्ये केही पोखराबाट विमान जाने गरेका छन् भने अधिकांश सडकमार्ग हुँदै जान्छन्। पोखरादेखि मुक्तिनाथको रानीपौवासम्मको सडक कालोपत्रे गरिएकाले पनि सडकमार्गबाट मुस्ताङ जानेहरुलाई सहज भएको छ। मुस्ताङ जानका लागि प्रवेश जिल्ला पर्वत रहेका कारण मुस्ताङ आउजाउ गर्ने तीर्थालुका कारण पर्वत सदरमुकाम कुश्मामा पनि चहलपहल बढेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटका अनुसार अहिले पर्वत हुँदै दैनिक ६० वटा साना ठूला सवारी साधन मुस्ताङ गइरहेका छन्। ‘पोखरा, काठमाडौं, चितवन, पर्वत, स्याङजा, तनहुँलगायतका ठाउँका तीर्थालुको बढी चाप छ, उनले भने, अघिल्लो वर्षको तुलनामा यस वर्ष मुस्ताङ जाने सवारीहरु झण्डै ४० प्रतिशतले वद्धि भएको छ। अघिल्लो वर्ष मोटरसाईकलमा जाने तीर्थालु पनि उत्तिकै थिए तर यस वर्ष मोटरसाईकलमा जाने निकै कम भएको रानाभाटले बताए। पोखरा(बागलुङ सडकलाई मध्यपहाडी लोकमार्गको रुपमा विकास गर्नका लागि सडक बिस्तारका कारण धुलो र अप्ठ्यारोका भएकाले मोटरसाइकलमा मुस्ताङ जाने तीर्थालुको संख्या कम भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ। तीर्थालुकै चापका कारण पर्वतसहित म्याग्दीका होटलको व्यापार समेत बढेको छ भने मुस्ताङका होटलहरुलाई ग्राहक धान्न भ्याइनभ्याइ छ। मुक्तिनाथलाई भगवान विष्णुको पूण्य भूमिका रुपमा लिने गरिन्छ। मुक्तिनाथमा रहेका १०८ धारामा स्नान गरेमा पाप नष्ट हुने विश्वास छ।

 

तपाईंको बिचार