Wednesday, August 21, 2019

पर्यटन विकासका लागि यातायातको पूर्वाधार आवश्यक

प्रकाशित मिति: 2018/10/03

 काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले मुलुकमा पर्यटनको समग्र विकास गर्न सडक यातायात मूख्य आधार हुने बताएका छन्। पर्यटनमा विकास गर्नका लागि सबैभन्दा पहिले राष्ट्रिय प्राथमिकतामा सडक पूर्वाधार रहेको उपाध्यक्ष कँडेलले बताए। घरबास (होमस्टे) एशोसिएसन नेपाल (होसान)ले आयोजना गरेको पर्यटन मार्फत समृद्धिु कार्यक्रममा उपाध्यक्ष कँडेलले एउटा गन्तव्यबाट अर्को गन्तव्यमा पुग्ने बाटो नहुँदा पर्यटकीय स्थलसम्म पर्यटक पुग्न नसकेको बताए। पर्यटन क्षेत्रले थुप्रै उद्योगी, व्यवसायी उत्पादन गरिरहेको भन्दै उनले राम्रो प्रगति भइरहे पनि जुन हिसाबले अगाडि जानुपर्ने हो त्यो नभइरहेको बताए। उपाध्यक्ष कँडेलले पुर्वाधार पुगेका ठाउँलाई गुणस्तर बृद्धि गर्न ध्यान दिनुपर्ने बताउँदै सीमित गन्तव्य पहिचान गरी थप गर्नुपर्ने बताए। सम्भावना बोकेका पर्यटीय गन्तव्यमा एकीकृत पूर्वाधार पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ। ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पुरा गर्न संविधान र सरकारको नीति कार्यक्रमलाई आधार बनाएर अगाडी बढ्नुपर्ने बताउँदै उपाध्यक्ष कँडेलले योजना ‘भूत मुखी हैन भविष्य मुखी’ बनाउनुपर्ने बताए। ‘अब यो भएन, त्यो भएन भन्ने हैन यो हुनुपर्‍यो भनेर किटानीका साथ भनिदिनुभए राष्ट्रिय योजना आयोगले नीतिगत रुपमा सघाउन सजिलो हुनेथियो’, उनले भने। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुँयालले पर्यटन व्यवसायलाई साना उद्योगको रुपमा स्थापित गर्न सकिए सामाजिक परदर्शीता देखिने र रोजगारी र व्यवसायिक बृद्धि हुने बताए। पर्यटनको विकास गर्न सरकारले आकर्षण बढाउने र सुरक्षाको प्रत्याभुति गराउनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा पूर्वसहसचिव प्रतिक ढकालले पर्यटन मार्फत समृद्धि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। होमस्टे एशोसिएशनका अध्यक्ष भीमबहादुर केसीले कार्यपत्रमाथि उठेका सवाल र समाधानको निष्कर्ष पर्यटन मन्त्रालयलाई बुझाउने बताए।

 

तपाईंको बिचार