Thursday, May 23, 2019

अपी आरोहण टोली बाटो नपाउँदा फिर्ता

प्रकाशित मिति: 2018/10/05

दार्चुला । अपी हिमाल आरोहणका लागि अघिल्लो महिना यहाँ पुगेको चेक गणतन्त्रको टोली हिमाल आरोहण नगरी फर्किएको छ । टोलीले बोकेको नक्सा नमिल्ने र भरपर्दो बाटो नहुँदा अपी हिमाल बेस क्याम्प पुगेर टोली फर्केको हो ।
अपी हिमाल आरोहणका लागि बेस क्याम्प पुगेका पर्यटक ।

७ हजार १ सय ३२ मिटर उचाइको अपी हिमाल आरोहणका लागि आएको चेक गणतन्त्रको ८ र नेपाल पर्यटन बोर्डका दुई जनाको उक्त टोली पाँच हजार ६ मिटर उचाइमा पुगेर फर्किएको स्थानीय शोभानसिंह लोथ्यालले बताए ।

‘बेस क्याम्पमा करिब एक साता बसेर हिमाल आरोहणका लागि बाटो भेटिनँ,’ अपी हिमालको खण्डेश्वरीबाट स्थानीय गाइडका रूपमा टोलीसँगै बेसक्याम्प पुगेका लोथ्यालले भने, ‘टोलीले पर्यटन बोर्डबाट आरोहण गर्न सजिलोका लागि ल्याइएको नक्साअनुसारको बाटो पहिल्याउन नसक्दा हिमाल चढ्न सकिएन ।’ हाल बेसक्याम्पबाट हिमाल चढ्ने बाटो फरक र टोलीले नक्सा पुरानो बोकेको हुनाले आरोहण नगरी फर्केको उनको भनाइ छ ।


लामो समयपछि विदेशी पर्यटक जिल्लाकै मुख्य पर्यटकीय स्थल मानिएको अपी हिमालको बेसक्याम्पसम्म पुग्ने सुरक्षित बाटो र बेसक्याम्पबाट पनि हिमाल चढ्ने रूट पत्ता लगाई नसक्नु दुस्खद भएको विदेशी पर्यटकलाई उद्धृत गर्दै दोथ्यालले बताए । ‘पुराना मान्छेले बनाएका घोरेटा बाटा राम्रा देखिए,’ टोलीसितै काठमाडौंबाट आएका पथप्रदर्शक कपुर तामाङले भने, ‘पछिल्लो समयमा पुर्खाहरूले निर्माण गरी क्षति भएका बाटाको पुनर्निर्माणसमेत भएको भेटिएन ।’ अपी हिमाल आरोहणका लागि आएको टोली भौगोलिक जटिलताका कारण बेसक्याम्पबाट फर्किएको पथप्रदर्शक उनले जानकारी दिए ।

दक्षिणपूर्वी मोहडाबाट आरोहण गर्न जटिल भएकाले टोली अपी हिमाल आरोहण नगरी फर्किएको हो । बेसक्याम्पसम्म पुग्ने बाटो व्यास गाउँपालिकाबाट छोटो पर्ने भन्दै गए पनि गत भदौ २७ मा टोली व्यास गाउँपालिका २ स्थित तम्पाकुबाट माथि जाने बाटोमा क्षति पुगेका कारण फर्केका थिए । व्यासमा निर्माण गरिएको बाटो जटिल भौगोलिक क्षेत्रमा निर्माण गरिएको भए पनि सुरक्षित र क्षति कम हुने थियो । क्षति भएको व्यासको बन्न नसक्नु दु खद रहेको टोलीका सदस्य तामाङको भनाइ छ ।

उक्त टोलीले आफूलाई बाटोको बारेमा सही जानकारी नदिएको र नपाएको गुनासो गरे । ‘सदरमुकाम खलंगाबाट बेसक्याम्पसम्म ५ दिनमा पुगिने बताइएको थियो,’ तामाङले भने, ‘खलंगादेखि बेसक्याम्प पुग्ने ७ दिन लाग्यो ।’ मार्मा गाउँपालिकाको पारिबगडदेखि नै पर्यटकलाई बास र बेसक्याम्पसम्म पुग्ने नै रुटको खाँचो देखिएको उनको भनाइ छ ।

अपी हिमाल आरोहणलाई नियमित र आकर्षक बनाउन खलंगाबाट अपी बेसक्याम्पसम्म सात दिनको रुट निर्धारण गरिनुपर्ने, पर्यटन बोर्डले अपी हिमालसम्म पुग्ने नयाँ नक्सा निर्माण गरिनुपर्ने र जोकोही व्यक्ति बेसक्याम्पसम्म पुग्न ठाउँ–ठाउँमा साइन लगाएको हुनुपर्ने र बाटोमा क्याम्प साइड निर्माण गर्नुपर्ने जस्ता सुझाव टोलीले दिएको स्थानीय पर्यटन व्यवसायीसमेत रहेका लोथ्यालले बताए ।

स्थानीय वन्यजन्तु तथा वनस्पतिको संरक्षण र पर्यापर्यटनको विकासबाट स्थानीयको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले ८ वर्ष अगाडि स्थापना भएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले हालसम्म जिल्लाका मुख्य तथा संरक्षण क्षेत्रभित्र पर्ने पर्यटकीय स्थलहरूको पदमार्गको निक्र्यौल गर्न नसक्नु दुखद भएको टोलीको भनाइ छ ।

अपी हिमाल गाउँपालिका १ थाइकोटबाट अपी बेसक्याम्प पुग्न तीन दिन लाग्छ । उक्त बाटोमा कुनै किसिमको बस्ने तथा ओत लाग्नेसमेत ठाउँ भेटिएन । पर्यटन बोर्डले उपलब्ध गराएको नक्सा पुराना भएकाले बेसक्यामसम्म पुग्न समस्या झेल्नुपरेको तामाङले बताए ।

तपाईंको बिचार