Tuesday, June 18, 2019

व्यवसायीलाई थप मर्यादित र पारदर्शी हुन आग्रह

प्रकाशित मिति:


काठमाडौं । काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले ठमेल लगायत अन्य क्षेत्रका व्यवसायीलाई थप मर्यादित र पारदर्शी हुन आग्रह गरेका छन ।

मुलुकलाई आर्थिक रुपले सम्वृद्ध बनाउन सुरक्षा व्यवस्था सबैभन्दा पहिलो आवश्यता भएको भन्दै उनले काठमाडौंको सुरक्षालाई मजबुद बनाउन सरकारले थालेको अभियानमा थप मर्यादित र पारदर्शी हुन व्यवसायीलाई आग्रह गरे । ठमेल पर्यटन विकास परिषदद्धारा आइतबार राजधानीमा आयोजित ‘पर्यटनमा सुरक्षा’ विषयक छलफल कार्यक्रममा काठमाडौ जिल्लाका प्रजिअ आचार्यले व्यवसायीलाई यस्तो आग्रह गरेका हुन् ।

उनले सबै स्थानमा बस्ने व्यवसायी र स्थानीयवासीको पहिलो आवश्यता शान्ति र सुरक्षाको प्रत्याभुति नै भएकाले ठमेल क्षेत्रका व्यवसायी र अन्य निकायबीच आपसी समन्वय हुनुपर्ने धारणा राखे । सबैभन्दा पहिले विभिन्न क्षेत्रका व्यवसायीहरुबीच आपसी समन्वय भएपछि मात्र अहिले देखिएका विविध समस्या समाधानको उपाय खोजिने छ भन्दै उनले अब आफुले काठमाडांैका सडकमा हुने नकारात्मक विकृतिका कुनैपनि हर्कत नियन्त्रणकालाई कडा कदम चाल्ने बताए ।

यसैगरि, उनले ठमेल, गोंगबु क्षेत्र र सुन्धारा क्षेत्रलगायत काठमाडांै उपत्यकामा सञ्चालित सबै होटल व्यवसायीलाई थप मर्यादित र पारदर्शी हुन आग्रह गरे । उनले यातायातका क्षेत्रमा हुने ठगी, भाडाका ट्याक्सी व्यवसायीका ठगी नियन्त्रणका लागि अहिले सम्बन्धित निकायका विभागीय प्रमुखहरुलाई निर्देशन दिइसकेकाले व्यवसायीलाई पनि थप मर्यादित बन्न सुझाव दिए । अझै अटेर गर्नेहरुलाई अब सरकारले कडा कारबाही गर्ने दावी गर्दै प्रजिअ आचार्यले भने, ‘काठमाडौको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन मैले सम्बन्धीत क्षेत्रका प्रहरीहरुलाई निर्देशक दिएको छ ।’

काठमाडांै महानगरीय प्रहरी महाशाखा टेकुका प्रमुख वसन्तकुमार लामाले ठमेल, दरबारमार्ग लगायत काठमाडांै उपत्यकाको सम्पूर्ण पर्यटकीय बजार एवं गन्तव्यस्थलमा पुग्ने पर्यटकको सुरक्षाका लागि आफुहरुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले मुलुकको पर्यटन क्षेत्रलाई थप सुरक्षित बनाउने आफुहरुको यस अभियानमा स्थानीय व्यवसायीहरुको पनि उत्तिकै जिम्मेवारी हुनुपर्ने धारणा राखे ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङले ठमेललाई मुलुककै नमुना पर्यटकीय हब बनाउन आफुहरुले अहिलेसम्म गरेको विविध गतिविधीहरुबारे जानकारी गराउँदै अझै यहाँ देखिएका केही समस्या समाधानका लागि सरकारको सहयोग अपरिहार्य भएको बताए ।

सो कार्यक्रममा काठमाडौ १६ नं वडाका प्रमुख मुकुन्द रिजाल, काठमाडौ २६ नं वडाका प्रमुख खेम तिवारी र ब्लु डाइमण्ड सोसाइटिका अध्यक्ष पिंकी गुरुङले नेपालको पर्यटनलाई थप सुरक्षित बनाउन सरकारका तर्फबाट हुनुपर्ने विविध नीतिगत सुधारका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
 

तपाईंको बिचार