Sunday, April 21, 2019

लम्सालको संयोजन र अधिकारीको पहलमा दाङसिङ माविको भवन बन्ने पक्का

प्रकाशित मिति: 2018/10/11

काठमाडौं । नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नम्बर १, दाङसिङमा अवस्थित दाङसिङ माविको पक्की भवन निर्माणका लागि दाताहरु जुटेका छन् । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल, गन्तव्य नेपाल ग्रुपका अध्यक्षसमेत रहनुभएका स्थानीय सामाजिक अभियन्ता शिव अधिकारी (अविरल) तथा स्वीस नागरिक रोय फ्रान्सिज्लगायतको टोली बुधबार (घटस्थापनाको दिन) सो विद्यालयमा पुगेर पक्की भवन निर्माण गरिदिने घोषणा गरेको छ ।

२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त उक्त विद्यालयको अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालले स्वीस नागरिक रोय फ्रान्सिज्को आर्थिक सहयोगमा ७ कोठे पक्की भवन निर्माण गर्ने घोषणा गर्नुभयो । लम्सालकाअनुसार उक्त भवनमा ६ वटा कोठा र अत्याधुनिक हटसावरसहितको बाथरुम, शौचालय बन्नेछ । उक्त भवन निर्माणका लागि करिब ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता शिव अधिकारी (अविरल) ले आफ्नो तारकेश्वर विकास र सम्बृद्ध गर्ने अभियान निरन्तरतास्वरुप यो विद्यालयको भवन निर्माण गर्न लागिएको बताउँदै यस कार्यमा सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले विकास निर्माणमा आफुले राजनीतिक रङ्ग दिएर काम नगर्ने आफ्नो स्वभाव रहेको भन्दै विकासको लागि राजनीतिभन्दा माथि उठेर सबैले आआफ्नो तहबाट योगदान गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

अधिकारीले तारकेश्वरमा महिला सशक्तिकरण अभियानअन्तर्गत आमा समुह, कृषि समुह, एकल महिला समुहलगायत यूवा वर्गलाई प्रोत्साहन गर्नका लागि क्लब स्थापना गरी स्वास्थ्य सामाग्री, खेलकुद सामाग्री प्रदान गर्दै आउनुभएको छ भने लम्सालले पनि त्यस क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ ।

टोलीले सोही कार्यक्रमबीच विद्यालयका छात्रछात्राहरुलाई जाडोमा लगाउने पञ्जा, टोपीलगायतको समाग्री वितरण गरेको थियो ।

उक्त कार्यक्रममा नेपाली कांगे्रस तारकेश्वर गाउँपालिका संयोजक होमबहादुर तामाङ, वडा नम्बर १, दाङसिङका वडा अध्यक्ष दयानिधि अधिकारी, समाजसेवी दिलबहादुर तामाङ, सन्तलाल तामाङ, कृष्ण रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, विद्यार्थी, स्थानीयलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईंको बिचार