Thursday, December 12, 2019

काठमाडौं बाहिर हवाई बेस राखेर बुद्ध एयरले ७२ सिट क्षमताका तीन एटिआर ल्याउने

प्रकाशित मिति: 2018/10/27

काठमाडौं। निजी क्षेत्रको ठुलो वायुसेवा कम्पनी बुद्ध एयर क्षमता विस्तारमा आक्रामक देखिएको छ। तीनवटा नयाँ विमान थपेर बुद्ध एयरले आफ्नो व्यवसाय विस्तारलाई तीव्रता दिन लागेको हो। बुद्ध एयरले एटिआर ७२ (७२ सिट क्षमताका जहाज) भित्र्याउने तयारी अघि बढाएको स्रोतले जानकारी दिएको छ।

निजी क्षेत्रका अन्य विमान कम्पनीले विमान थपेर आक्रामक व्यवसाय गर्न थालेपछि बुद्ध एयरले पनि तीनवटा जहाज थप गर्न लागेको कम्पनीसम्बद्ध स्रोतले जानकारी दिएको छ। कम्पनीले यो चरणमा ल्याउन लागेको तीनवटा मध्ये पहिलो जहाज अबको ६ महिना भित्रमा ल्याइसक्ने तयारी गरेको छ। त्यसपछिका दुईवटा जहाज पनि पहिलो ल्याए लगत्तै भित्र्याउने तयारी गरेको कम्पनीका ती अधिकारीले जानकारी दिएका छन्।


कम्पनीले करिब एक अर्ब रुपैयाँमा तीन वटा जहाज भित्र्याउने तयारी गरेको छ। यी जहाज भित्र्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीले दुई महिना अघि नै स्वीकृति पाइसकेको छ। यी तीनैवटा जहाजको बेस भने काठमाडौं बाहिर रहनेछन्।

ुहामी एउटा जहाज छिट्टै ल्याउने योजनामा छौँ, तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक जाम हुन थालेपछि जहाज होल्ड हुने समस्या खेपिरहनुपरेको छ, बुद्धका ती अधिकारीले भने यसका कारण हामीले आफ्नो व्यावसायिक योजना अनुसार अगाडि बढ्न सकिरहेका छैनौँ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंको चाप केही कम हुने र सेवा विस्तारमा सहज हुने कम्पनीको विश्वास छ। राती ६ बजे यात्रुलाई गन्तब्यमा पुर्यावउनुपर्ने ठाउँमा १० बजे पुर्यामउनुपरेको छ, ती अधिकारीले भने।

बुद्ध एयरले नयाँ जहाज ल्याएसँगै त्यसको नियमति उडानका लागि दुई जना पाइलट र चारजना कोपाइलट नियुक्तीको प्रक्रिया पनि अघि बढाएको छ। ुव्यावसायिक योजनाअनुसार नै अघि बढ्न खोजिरहेका छौँ, यसका लागि सबै तयारी पुरा गर्दै अघि बढ्छौँ, कम्पनी स्रोतले भन्यो।

हाल कम्पनीसँग भएको ९ वटा एटिआरले काठमाडौं बेस राखेर उडान गर्दै आएका छन्। यस्तै दुईवटा जहाज भने विराटनगर बेस राखेर उडाउँदै आएको कम्पनीले जनाएको छ। कम्पनीले भविष्यमा उपत्यका बाहिरका अन्य विमानस्थलमा बेस राखेर उडान गर्ने पनि जनाएको छ।

हाल कम्पनीको ६ वटा ७२ सिटे एटिआर, तीनवटा ४२ सिटे एटीआर र दुई वटा बिच क्राफ्ट लगायत १२वटा जहाजले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, पोखरालगायत आठवटा आन्तरिक गन्तब्यमा उडान गर्दै आएको छ।  यस्तै कम्पनीले भारतको वाराणासीमा पनि साताको तीनवटा उडान गर्दै आएको छ। 

तपाईंको बिचार