Saturday, August 24, 2019

हिमालपारि पर्यटकको बढ्दो संख्या

प्रकाशित मिति: 2018/10/27

लमजुङ  । सडक यातायातले जोडिएको भए पनि हिमालपारिका मनाङ र मुस्ताङको यात्रा मुलुकका अन्य जिल्ला जस्तो सहजमा पर्दैन । यसपटक दसैंतिहारको बिदा सदुपयोग गर्ने आन्तरिक पर्यटकले गन्तव्य बनाएपछि दुई जिल्लामा नेपालीको चाप छ ।
मनाङ ङिस्याङ गाउँपालिका ९ खाङ्सार क्षेत्रमा पर्ने संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा पुगेका पर्यटक ।

लमजुङ हुँदै मनाङ र पोखराबाट कुश्मा र बेनी छिचोलेर पुगिने मुस्ताङमा यतिबेला दिनदिनै आन्तरिीक पर्यटकको ओइरो छ । मुस्ताङ जान आउने पर्यटक पोखराबाट जिप रिजर्भ गरी गइरहेका छन् ।

जोमसोममा पाइने जिप रिजर्भ गरी उपल्लो मुस्ताङ पुग्नेको पनि उतिकै घुइँचो छ । चार वर्षअघि मनाङमा विदेशीसँग जाने गाइड (पथ प्रदर्शक) र पोर्टर (भरिया) बाहेक अन्यको अनुहार देख्न मुस्किल पथ्र्यो । सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी र काम गर्नका लागि मनाङ जानेहरू केहीबाहेक नयाँ अनुहार देखिँदैनथे ।

मनाङ गाउँका पर्यटन व्यवसायी कर्मा गुरुङको अनुभवमा गत वर्षहरूको यो समय ‘गोरो छाला’ भएकाहरूको भीडले मनाङेहरू दंग पर्थे । तर, अहिले तिनै विदेशी भन्दा स्वदेशी थरीथरीका मोटरसाइकल लिएर आउनुका साथै जिप चढेर आएपछि उनीहरू फुरुंग छन् ।

‘४ वर्षअघि नेपालीका नयाँ अनुसार देख्न मुस्किल पथ्र्यो । कोही आएमा मनाङेहरू लुक्थे । घरभित्र पस्थे’ उनले भने, ‘अहिले त्यस्तो छैन । नयाँ मानिस आएमा स्वागत गर्छन् । चिया खाएर जानोस् भन्न थालेका छन् ।’ पर्यटककै प्रभावले आज आन्तरिक पर्यटक देख्दा स्वागत सत्कार गर्न खोज्छन् । ‘हामी प्रकृति र संस्कृति एकसाथ देखाउन चाहन्छौं । अहिले विदेशीसँगै स्वदेशी पनि भित्रिएका छन् । यसमा हामी खुसी छौं,’ उनले भने ।

स्थानीयवासीका अनुसार मनाङ आउनेरजानेका लागि खासै नौलो र नयाँ ठाउँ होइन । तर, पहिलो समय आउने जो कोही पनि त्यसपछि आउँ आऊँ लाग्ने बनाउने क्षमता मनाङले बोकेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले बताउँछन् । ‘मनाङ हेर्न र घुम्न आउनेहरू मनाङ गाउँ नआएसम्म चित्तै बुझ्दैन । यहाँको प्राकृतिक छटाले पर्यटकलाई मन्त्रमुग्ध पार्छ,’ उनले भने । उनका अनुसार पैदल वा सवारी साधनमार्फत आएका पर्यटक हिमाल हेरेर आफ्ना आफन्तसँग च्याट खेल्छन् ।

मनाङ आएको अनुभव सुनाउँछन् । ‘हिमाललाई अगाडि राखेर सामाजिक सञ्जालमार्फत आफू र गन्तव्य देखाउँदा तिनका आफन्त पनि दंग पर्छन्,’ उनले भने । घलेका अनुसार आन्तरिक पर्यटकको रोजाइमा संसारकै अग्लो मानिएको तिलिचो ताल (४,९१९ मि) परेको छ । विदेशी पर्यटकको रोजाइमा संसारकै अग्लो हिमाली पदमार्ग भञ्ज्याङ थोराङ्ला भञ्ज्याङ (५,४१६ मि) र तिलिचो दुवै ताल पर्छ ।

विदेशी पर्यटक थोराङ्ला पास हुँदै मुक्तिनाथ, जोमसोम पुग्न चाहन्छन् । अध्यक्ष घलेका अनुसार पर्यटकको रोजाइमा गंगापूर्ण ताल ९३,५०० मि० पर्ने गरेको छ । ‘अहिले त विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेका छन्’ उनले भने, ‘दसैंतिहार जस्ता चाडपर्वको समय, लामो बिदा परेको समय मनाङ घुम्न आउने पर्यटकको घुइँचो नै लाग्छ ।’ अन्नपूर्ण पदमार्गमा सहरबजारका धनाढ्य, उद्योगी, व्यापारी, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिकर्मी आउने गरेको उनले बताए ।

स्थानीयका अनुसार चारैतिर देखिने हिमाल, मस्र्याङ्दीको नागबेली, हिमाली जीवनयापन, गाउँका गुम्बा, स्थानीय संस्कृति हेर्न पर्यटक बर्सेनि मनाङ आउने गरेका छन् । सहरबजारबाट सवारी साधनबाटै मनाङ पुगिने भएकाले आन्तरिक पर्यटक मनाङको कुनाकाप्चा पुगेका हुन् ।

मस्र्याङ्दी गाउँपालिका ३ खुदी तरापुका शोभित पोखरेलले चक्रीय अन्नपूर्ण पदमार्गभरि नेपाली पर्यटक भरिएको बताए । ‘आधा नेपाली त मनाङमै छन् होला अहिले’ भनेर फेसबुकमा स्टासट लेखेका उनले तिलिचोसम्म पुग्दा बाटैभरि नेपाली देखेको बताए । ‘हामी साथीहरू घुम्न गयौं । तिलिचोमा गएर नेपाली झण्डा फहरायौं ।

संसारकै सबैभन्दा अग्लो ठाउँको तालमा नेपाली झण्डा फहराउँदा गज्जबको गर्व लाग्दोरहेछ ।’ अहिले लमजुङको बेंसीसहरबाट माथिल्लो मनाङसम्म दैनिक जिप चल्छ । काठमाडौं, पोखरा, चितवनबाट सबैरै निस्केका पर्यटक बेंसीसहर हुँदै मोटरसाइकल वा जिपमार्फत मनाङ आउने गरेका स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।

बेंसीसहरदेखि मनाङको चामेसम्मको करिब ६५ किलोमिटर सडक ५ वर्षअघि सडक सञ्जालमा जोडिसकेको छ । चामेदेखि माथिल्लो मनाङको खाङसारसम्म ३१ किलोमिटर सडकमा ४ वर्षयता सवारी साधन चलेको छ ।

‘सडकको पहुँच पुगेसँगै जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख (संरक्षण अधिकृत) बाबुलाल तिरुवाले बताए । उनका अनुसार सडकले आन्तरिक पर्यटकलाई फाइदा पुगेको छ । सडकको ट्रयाक खोलिएको अर्को वर्षसम्म आन्तरिक पर्यटक खासै आएका थिएनन् । केही प्राकृतिक प्रकोप, भूकम्प र नाकाबन्दीले आन्तरिक पर्यटक आएनन् ।

‘गत वर्षदेखि यो समय पदमार्गमा पर्यटक आगमन तीव्र छ । मौसम खुलेको समय पर्यटकले बाटो नै पाउँदैन’ उनले भने । सरकारले राजपत्रमै उल्लेख गरी यस वर्षदेखि आन्तरिक पर्यटकलाई १ सय रुपैयाँ प्रवेश अनुमतिपत्र शुल्क लिने निर्णय गरेको छ । तर, चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले उक्त रकम तिर्न नमानेको एक्यापका कर्मचारी बताउँछन् ।

यस कारण आन्तरिक पर्यटक कति आए भन्नेमा एकिन गर्न नसकिएको उनीहरूको गुनासो छ । एक्याप मनाङका पर्यटन सहायक क्षेत्र गुरुङले दैनिक २ सयदेखि ३ सय हाराहारीमा मनाङमा आन्तरिक पर्यटक आएको अनुमान गरे । ‘सरसर्ती हेर्दा मनाङ आउँदै, तिलिचो जाँदै गरेका पर्यटक हेर्दा ३ सयको हाराहारीमा देख्न सकिन्छ । नेपाली पर्यटक थोराङला पास भने धेरै जाँदैनन्’ उनले भने । विश्वविख्या चक्रीय अन्नपूर्ण पदमार्ग लमजुङको बेंसीसहरदेखि सुरु भएर मनाङ–मुस्ताङ–म्याग्दी–घोरेपानी हुँदै पोखरासम्मको यात्रा २१ दिनमा पूरा हुन्छ । मुस्ताङतर्फ मुक्तिनाथ र मनाङतर्फ मनाङ गाउँसम्मै मोटर पुगेकाले यसको यात्रा ७ देखि १० दिनमा झरेको छ ।

युवाको मुस्ताङ आकर्षण
यात्राको गन्तव्य मन परेको ठाउँ हुनुपर्छ । जुन ठाउँमा पुगेपछि मनमा आनन्दाभूति हुन्छ त्यस्तो ठाउँलाई ‘ड्रिम डेस्टिनेसन’ भन्ने गरिन्छ । नेपाली युवाको ड्रिम डेस्टिनेसन बन्दैछ, मुस्ताङ ।
उपयुक्त पदयात्रा सिजन भएकाले दसैंतिहारको बिदा मनाउन मुस्ताङ भ्रमणमा आउने युवाहरूको संख्या वृद्धि भएको छ । मोटरसाइकलमा आउनेहरू बढेका छन् । छिमेकका म्याग्दी, बागलुङ, पर्वत मात्र होइन पोखरा, काठमाडांै, बुटवल, हेटौंडा र पूर्वका जिल्लाहरूबाट तन्नेरीहरू मोटसाइकल र साना गाडीमा उक्लिरहेका छन् ।

मुस्ताङ प्राकृतिक सौन्दर्य र बौद्धमार्गी तथा हिन्दु धर्मालम्बीहरूको आध्यात्मिक तीर्थाटनको संयुक्त गन्तव्य पनि हो । कालीगण्डकी नदी किनारा पछ्याउँदै उक्लने बेनी–जोमसोम–मुक्तिनाथ–कोरला सडक किनारामा बेनी शिवालय, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डजस्ता प्रशिद्ध धार्मिक गन्तव्यहरू छन् ।

एउटै यात्रामा दर्जन प्रमुख तीर्थस्थलको भ्रमण गर्न सकिन्छ । ‘दो काम एक पन्थ भन्ने उखान मात्र सुनेको थिएँ, मुस्ताङ यात्राले साँच्चै अनुभूति भयो,’ काठमाडौंको बानेश्वरका सन्दीप सापकोटाले भने, ‘दसैंको विदामा बाआमालाई मुक्तिनाथ तीर्थाटन पनि गराएँ । मैले पनि मुस्ताङको सुन्दरता हेर्न पाएँ ।’

प्रकृतिमा रमाउन चाहनेका लागि संसारको सर्वाधिक गहिरो गल्छीमा पर्ने तातोपानीको मुहान, प्रसिद्ध रुप्से झरना, लेते, मुस्ताङका स्याउ बगान र फराकिलो र विचित्रको भूगोल मुख्य आकर्षण हुन् । मुक्तिनाथको चिसो सिरेटोबाट फर्केपछि तातोपानीमा डुब्दा शरीरको धूलोमैलो मात्र पखालिने होइन मनबाट थकान पनि मेटाउँछ । छुट्टै स्फूर्ति आउँछ । अझ प्रेमिकाको अँगालोमा बेरिएर तातोपानीको पोखरीमा चुर्लुम्म डुब्नेको मज्जा बेग्लै छ । बेनीमा सुकुटी वा म्याग्दी खोलाको असला माछाको झोलमा गौरिया चामलको भातले जिब्रोमा कहिल्लै नमेट्ने स्वाद गढ्छ ।

मोटर बाटोको सुगमताले दसैंको टीका लगाउन नपाएका र लामो बिदा मनाउन सहरका कर्मचारी, व्यवसायी, सञ्चारकर्मी सपरिवार मुस्ताङ भ्रमणमा बढी आएका छन् । त्यसैगरी चिसो बढी नसकेकोले विभिन्न कलेजका विद्यार्थीहरू पनि शैक्षिक भ्रमणमा आएका छन् ।

पोखरादेखि जोमसोमसम्म एक दिनको यात्रामा बिचित्र–बिचित्रको भूगोल, संस्कृति र खानाको स्वाद पाउन सकिन्छ । त्यसैगरी अन्नपूर्ण चक्रिय पदमार्गको उत्कृष्ट गन्तव्य थोरङ्ला पासमुनिको मुक्तिनाथ, जोमसोममा बाह्य पर्यटकको पनि उत्तिकै घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका अनुसार अहिले दैनिक दुई सयभन्दा बढी बाह्य पर्यटक मुक्तिनाथमा ‘इन्ट्री’ गरेका छन् ।

‘दैनिक १ हजार ५ सयभन्दा बढी सवारी साधन मुस्ताङ प्रवेश गर्ने गरेका छन्’ अन्धगल्छीमा पर्ने दानास्थित मुस्ताङ लेतेका इन्द्रसिं शेरचनले भने, ‘मोटरबाटोको सोझो पहुँच र सिजनेबल व्यवसाय होटलमा पर्यटन खचाखच छन् ।’ मुस्ताङ प्रवेश गर्ने सवारी साधनको अभिलेख राख्ने सीमावर्ती घाँसा प्रहरी चौकीको अभिलेखअनुसार दसैंयता दैनिक २ सयभन्दा बढी मोटरसाइकल, १ सय ५० भन्दाबढी पर्यटक र निजी सवारी साधन मुस्ताङ भित्रने गरेका छन् ।

तपाईंको बिचार