Saturday, August 24, 2019

मोदीवेणीलाई पर्यटकीय केन्द्र

प्रकाशित मिति: 2018/10/31

कुश्मा । मोदीवेणीको विकासमा गैरआवासीय नेपाली संघ एनआरएनएले लगानी गर्ने भएको छ। कालीगण्डकी र मोदीखोलाको संगमस्थल मोदीवेणीलाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न एनआरएनएले सहयोग गर्ने भएको हो।

वृद्धा श्रमको उद्घाटन गर्ने क्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले मोदीवेणीलाई नेपालकै आकर्षक पर्यटकीय एवं धार्मिकस्थल बनाउन पहल गर्ने प्रतिबद्धता जनाए। त्यसलगत्तै संघले लगानीका लागि चासो देखाएको हो। बागलुङ नगरपालिका, पर्वतको कुश्मा र फलेबास नगरपालिकाको संगमस्थल मोदीवेणी अहिले पनि पर्वत बागलुङ र स्याङ्जाको शव दाहसंस्कार गर्ने घाट, तथा पूजाआजाका लागि नृसिंहधाम मन्दिर छ। साथै यस स्थानमा विगत एक दशकदेखि वृद्धा श्रमसमेत सञ्चालन हुँदै आएको छ।

नदी किनारमा अवस्थित मोदीवेणी धामको प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझलमा परिरहेका बेला संघले सक्रियता देखाएको हो। यस क्षेत्रको विकासका लागि संघका अध्यक्ष भवन भट्टले तीन लाख रुपैयाँ प्रदान गरेका थिए।

मोदीवेणीअन्तर्गत बागलुङतर्फको देवलवगर, पर्वतको कुश्मा नगरपालिकामा र फलेबासअन्तर्गतको घाट जोड्न मोटरेबल वा झोलुंगे पुल निर्माण गर्ने, सत्संग भवन, संग्राहलय निर्माण तथा गाईपालन र घाट व्यवस्थापन गर्न पहल गर्ने भएको छ। स्थानीयको मागका आधारमा एनआरएनएले आवश्यक सहयोग गर्ने सल्लाहाकार सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार यस क्षेत्रको बृहत्तर विकास गर्न समितिले अक्षयकोष स्थापना गर्ने र त्यसमा एनआरएनएले रकम सहयोग गर्ने बताए।

अक्षयकोष स्थापना गर्न संघले सघाउने बताए। मोदीवेणीमा निर्माण हुने हरेक पूर्वाधारमा संघले लगानी गर्न तयार रहेको उनले बताए। दुईवटै जिल्लाका सरोकारवाला सम्मिलित समिति निर्माण गरेर अक्षयकोष स्थापना गर्ने, मोदीवेणीमा आवश्यक पूर्वाधारको सूची तयार गर्ने, लगत स्टिमेट तयार गरिसकेपछि संंघले आवश्यक रकम सहयोग गर्ने उनले जानकारी दिए।

मोदीवेणीमा हरेक एकादशी, पूर्णिमामा कालीगण्डकी स्नान गर्नेको भीड लाग्ने गर्छ। यहाँ माघे संक्रान्ति, वैशाखे संक्रान्ति, हरिबोधनी, हरिशयनी एकादशीमा पनि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ। हरेक वर्ष यहाँ सोह्र श्राद्धको अवसरमा महायज्ञ सञ्चालन हुँदै आएको छ।

तपाईंको बिचार