Thursday, June 27, 2019

रामपुरमा ‘मिनी फेवाताल पर्यटकीय गन्तव्यका रूपमा विकास

प्रकाशित मिति: 2018/11/01

पाल्पा । यसपटक दसैंमा रामपुर आएकामध्ये धेरै तालपोखरा घुम्न पुगे । लामो समयपछि घर फर्किएका मन्दिर र ताल हेर्न गएका हुन् ।
आफन्तकहाँ टीका लाउन आएकाले पनि पोखरी र मन्दिर घुम्न छुटाएनन् । व्यापार व्यवसाय गर्न रामपुर क्षेत्र पुग्नेहरू पनि त्यहाँ गएर मनमोहक तालमा शयर गरे । पछिल्लो एक वर्षयता पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको तालपोखरामा दसैंपछि आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।

पोखराको फेवाताल र ताल बाराही मन्दिरको नक्कल गरेर स्थानीयले रामपुरमा पोखरी बनाएका छन् । उनीहरूले यसलाई ‘मिनी फेवाताल’ नाम दिएका छन् । तानसेनबाट रामपुर पुगेका मनोज पौड्यालले एकपटक तालपोखरा नपुगी मनले नमान्ने बताए । ‘अत्यन्तै भीड देखियो, पालो पर्खेर डुंगा चढेँ,’ उनले भने, ‘दसैंपछि अत्यधिक भीड बढेको रहेछ ।’ उनका अनुसार ताल वरपर गाडीको निकै भीडभाड थियो । स्थानीय यातायात व्यवसायीलाई पनि भ्याइनभ्याइ छ । ‘यति धेरै भीड होला भन्ने सोचेको थिइनँ,’ उनले भने, ‘गएपछि मन्दिरको दर्शन र ताल घुम्न मन लाग्यो ।’ पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा तालपोखरामा आन्तरिक पर्यटकको चाप छ ।

थ्बmबजब

तालपोखरा अवलोकन गर्न आउनेको संख्या दसैंपछि बढेको हो । रामपुरको बेझाड, किसानबारी बजारबाट गाडी चढेर १० मिनेटमा यहाँ पुगिन्छ । रामपुर ६ को उक्त ताल कृत्रिम हो । यहाँ डुंगा सयर गर्न र तालको बीचमा रहेको मन्दिर दर्शन गर्न जान्छन् । नजिकै पार्कसमेत मनमोहक छ । यहाँ पुगेर तालमा रमाउने र फोटो खिच्ने पनि अत्यधिक हुन्छन् । स्थानीयका अनुसार बिहानैदेखि साँझ अबेरसम्म भीड लागेको छ । भ्रमणका लागि उपयुक्त सिजन छ । जिल्लाकै पहाडी भेगका साथै नवलपरासी, स्याङ्जा, तनहुँका विभिन्न भागबाट यहाँ दैनिक आन्तरिक पर्यटक आउने गरेका छन् ।

दैनिक ३ सयभन्दा बढीले तालमा डुंगा चढेको तालपोखरा संरक्षण समिति सदस्य सुनील देवकोटाले बताए । उनका अनुसार यसअघि दैनिक मुस्किलले ५० जना हुन्थे । ‘तालपोखरा घुम्न आउनेको संख्या ह्वात्तै बढ्यो,’ उनले भने ।

आन्तरिक पर्यटकले तालपोखराको महिमा बढेको छ । अवलोकन गर्नेको भीड बढेपछि दुई डुंगा थपेको उनले बताए । डुंगा चढेर मन्दिर जान प्रतिव्यक्ति ५० रुपैयाँ लाग्छ । आधा घण्टा ताल शयर गरेको ३ सय लाग्ने समितिले जनाएको छ । तालपोखरा क्षेत्र ४ बिघामा फैलिएको छ। यहाँ जलेश्वर महादेवको मन्दिर छ । ताल प्रवेशद्वारअघि सडकदेखि अर्को साइडमा फूलबारीसहितको पार्क छ ।

‘रामपुर आउने जोसुकै एकपटक तालपोखरा पुग्ने गरेका छन्,’ वडा ६ का अध्यक्ष हुमनाथ न्यौपानेले भने, ‘रामपुर नगरपालिकाले गरेको कामले राम्रो सन्देश दिएको छ ।’ यसबारे खासै प्रचारप्रसार नगरिए पनि व्यक्तिबीच कुराकानीकै आधारमा यति धेरै पर्यटक आएका हुन् ।

तपाईंको बिचार