Sunday, August 25, 2019

होटल भरिभराउ हुँदा रारामा रात काट्न मुस्किल

प्रकाशित मिति: 2018/11/01

सुर्खेत ।  होटल व्यवसायी भक्तबहादुर आरसीका वीरेन्द्रनगरमा दुईवटा होटल छन् । अरू समय मुस्किलले आधा–आधी हुने दुवै होटल दसैं लगत्तै भरिभराउ छन् ।

‘सधैंभरि यस्तै भए त कति राम्रो हुन्थ्यो,’ उनले भने, ‘यसका लागि त राराजस्तै अर्को कुनै पर्यटकीय क्षेत्र हुनुपर्छ ।’

आरसीजस्तै सुर्खेतका होटल व्यवसायीहरू अहिले ‘रारा–मौसम’ ले निकै उत्साही छन् । सुर्खेतमा पर्यटकीय पूर्वाधार भएका करिब ७५ होटल छन् । ती सबै होटलका कोठा दसैंयता खाली छैनन् ।

होटल सिद्धार्थका बजार प्रबन्धक दीपक जैसी रारा मौसम सुरु भएसँगै होटल मात्र होइन, होटल व्यवसायीलाई पनि एकछिन फुर्सद नभएको बताउँछन् । ‘मैले दिनहुँजसो होटलमा आएका पाहुनालाई रुम नहुँदा अर्को होटलमा पठाउने गरेको छु,’ उनले भने, ‘राराको चापले केही महिनाका लागि भए पनि होटलको खर्च धान्न सक्छ ।’

प्रमुख पर्यटकीयस्थल रारा यात्राको प्रवेश विन्दु सुर्खेत हो । यो मौसममा सुर्खेतसहित रारा रुटमा पर्ने दैलेख, कालिकोट, जुम्ला र मुगुका सदरमुकाम तथा राजमार्ग क्षेत्रमा पर्ने होटल खचाखच छन् । रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार दैनिक डेढ सयको संख्यामा पर्यटक आउने गरेका छन् । पछिल्लो तीन महिनामा करिब चार हजार पर्यटक रारा पुगेका उनको भनाइ छ ।

रारामा रात काट्न मुस्किल
रारा पुगेका पर्यटकलाई रारामै रात काट्न निकै मुस्किल छ । त्यसको प्रमुख कारण हो– होटल अभाव । रारामा डाँफे गेस्ट हाउस, भिलेज हेरिटेज रिसोर्ट र माँझघट्ट होमस्टे छन् । ती होटलले पाहुनाको भार धान्न सकिरहेका छैनन् । होटलमा कोठा नपाउँदा पर्यटकहरू चौरमा टेन्ट राखेर बस्न बाध्य छन् । कतिपय पर्यटक बासका लागि ताल्चा, झयारी र गमगढीसम्म पुग्ने गरेका छन् ।

‘रारा निकै सुन्दर छ तर यहाँ खाना, बस्नको उचित प्रबन्ध नहुँदा अलि असजिलो लाग्यो,’ सुर्खेतबाट आएका दिनेश गौतमले भने, ‘उत्साह लिएर रारा आउनेहरू निराश भएर फर्किने गरेका छन् ।’

खलंगामा खचाखच
रारा जाने पर्यटक बढेपछि त्यसको प्रभाव जुम्लामा पनि परेको छ । रारा पुग्ने पर्यटकहरू एकपटक खलंगा पुगेरै फर्किने गरेका छन् । नाग्म–गमगडी सडक खण्डको सिँजा क्षेत्र हुँदै रारा पुग्ने पर्यटकहरू राराबाट फर्किंदा बुलबुले, चौथा, खाली, पटमारा हुँदै खलंगा पुग्छन् । केही पर्यटक नाग्म हुँदै जुम्ला पुग्ने गरेका छन् ।एक सातादेखि जुम्लामा पर्यटक आउने संख्यामा हवात्तै वृद्धि भइरहेको छ । तर, कति पर्यटक आए भन्ने तथ्यांक राख्ने निकाय नहुँदा यकिन संख्या बताउन नसकिने होटल व्यवसायी पेवा लामाले बताए । अहिले जुम्लामा रहेका दुई दर्जन होटलमा पाहुनाको भार थेग्न निकै मुस्किल भएको उनको भनाइ छ । ‘पछिल्लो समय खलंगामा पर्यटकको चाप निकै बढेको छ,’ लामाले भने, ‘होटलका कोठामा बस्ने ठाउँ नभएर बारीमा टेन्ट हालेर बसाल्नुपरेको छ ।’

रारा जानको लागि जुम्लाका होटल चौतारी बन्ने गरेका छन् । काठमाडौंबाट आएका प्रदीप पोखरेलले सरकारले रारा, फोक्सुन्डोलगायत पर्यटकीय क्षेत्र जाने पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए ।

नयाँ होटल थपिए
कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ घोषणा गरेपछि पर्यटकलाई लक्षित गरी कालिकोटको मान्म, ताडी, पिली, नाग्म बजारमा नयाँ होटल खुलेका छन् । मान्ममा मात्र १२ नयाँ होटल खुलेका छन् ।

ती होटल अहिले भरिभराउ छन् । होटल व्यवसायी संघका अध्यक्ष जनकबहादुर शाहीले सडक र पूर्वाधार नभए पनि पाहुनाको उत्साहजनक आगमन भइरहेको बताए । मान्मस्थित चन्द्रसूूर्य होटलका सञ्चालकसमेत रहेका शाहीले असोज लागेपछि होटल व्यवसायीलाई भ्याइनभ्याइ भएको बताए । उनका अनुसार राराको सिजनमा यहाँका होटल व्यवसायीले १०–१५ लाखसम्म कमाउने गरेका छन् ।

राजमार्गमा रौनक
रारायात्रीको कारण कर्णालीका राजमार्गमा पनि छुट्टै रौनक बढेको छ । यसले गर्दा राजमार्ग क्षेत्रमा पर्ने गुराँसे, तल्लो डुंगेश्वर, राकम, पिली, नाग्मलगायत क्षेत्रका होटलमा खाना–नास्ता खाने र बास बस्नेको संख्या उल्लेख्य छ ।

दैलेखको गुराँसेस्थित तारा होटलका प्रोप्राइटर नमराज कँडेलले अरू समयभन्दा बास बस्ने पाहुनाको संख्या करिब ८० प्रतिशत बढेको बताए । उनको होटलमा सातवटा कोठा छन् । ‘दसैंपछि होटलका कोठा खाली छैनन्,’ उनले भनिन्, ‘दैनिक आम्दानी पनि ५० प्रतिशत बढेको छ ।’

गुराँसेमा तारासहित अन्य एक दर्जन होटल छन् । त्यस्तै दैलेखकै तल्लो डुंगेश्वरमा ससानै भए पनि होटल भरिभराउ छन् । राजमार्गका होटलमा यही मौकामा होटल व्यवसायीले स्थानीय परिकार, कर्णालीका माछा खुवाउने गरेका छन् ।

तपाईंको बिचार