Thursday, November 21, 2019

एनएमएको ४५औं वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति: 2018/11/02

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले आफ्नो ४५औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको  छ । विहिबार बाट नेपाल पर्यटन बोर्डको हलमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले केक काटेर उद्घाटन गर्नुबएको सो वार्षिकोत्सव समारोहबीच संघको ऐतिहासिक तथ्य, तथ्यांक तथा तस्वीरहरु सार्वजनिक गरिएको थियो ।

वार्षिकोत्सवको उद्घाटन गर्दै पर्यटन सचिव सापकोटाले एनएमएले पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । उहाँले एनएमएको हरेक कार्यप्रति सरकार सकारात्मक रहेको भन्दै नयाँ नयाँ पीकहरुको प्रवर्द्धनका लागि प्रस्ताव लिएर आउन समेत आह्वान गर्नुभयो ।

एनएमएका अध्यक्ष सन्तबीर लामाले एनएमए स्थापनाको विभिन्न कालखण्डहरुको स्मरण गराउँदै यही संस्थाको भूमिकाले मुलुकको समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउदै आएको बताउनुभयो । राज्यले अघि सारेको पर्यटन प्रवद्र्धन र विकासका हरेक योजना सफल पार्न निजी क्षेत्र हरेक तवरबाट लागिरहेको बताउँदै उहाँले एनएमएले पर्वतीय पर्यटन क्षेत्रमा खेलेको भूमिकाप्रति राज्य गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।

एनएमएका संस्थापक सदस्य शम्भु तामाङले एनएमए आजको अवस्थामा आइपुग्नका लागि विभिन्न खालको आरोह अवरोहको सामना गर्नुपरेको उल्लेख गर्दै यसको इतिहासलाई हल्का रुपमा व्याख्या नगर्न आग्रह गर्नुभयो ।

सो अवसरमा एनएमएका महासचिव कुलबहादुर गुरुङले एनएमएको स्थापनापछिका संस्थागत गतिविधि तथा वर्तमान कार्यसमितिले अघि बढाइरहेको कार्यप्रगतिका विषयमा तथ्यांकगत विवरणसहितको ‘प्रोजेक्टर प्रेजेन्टेशन’ प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पा, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम)का महानिर्देशक दुर्गादत्त ढकाल, नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महत, कृष्ण अर्याल, अवदेश दास, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) अध्यक्ष नवराज दाहाल, पूर्व अध्यक्ष सिताराम सापकोटाको आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा), होटल एसोसिएशन नेपाल (हान), फ्रेड फर्वाडर्स एसोसिएशन आफ नेपाल, ठमेल पर्यटन विकास परिषद, हिमालयन उद्धार संघ, एक्स्पीडिशन अपरेटर्स एसोसिएशन, योग एसोसिएशन नेपाल, गुरु पर्यटन व्यवसायी संघ नेपाल, गणेश हिमाल पर्यटन विकास परिषद, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)लगायतका पर्यटकीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

सन १९७३ मा स्थापना भएको एनएमएले अहिले आफ्नै अत्याधुनिक भवन निर्माण गर्दैछ । एनएमएले नेपाल सरकारसँगको सहकार्यमा अहिलेसम्म सयौंलाई बेसिक माउन्टेनियरिङ, एडभान्स माउन्टेनियरिङ, माउन्टेन लिडरशिप, माउन्टेन गाइड तथा एस्पीरेन्ट गाइडलगायतका महत्वपूर्ण टे«निङ दिएर पर्वतीय पर्यटन क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने काम गरेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय तथा ककनीमा पर्वतीय पर्यटन उद्यान सञ्चालन गर्दै आएको एनएमए विश्व पर्वतारोहण महासंघलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा प्रत्यक्ष संस्थागत सहभागिता रहेको संस्था हो ।

तपाईंको बिचार