Thursday, June 27, 2019

विदेशी पर्यटकको समूह अर्घाखाँचीमा नांगिदै

प्रकाशित मिति: 2018/11/03

 अर्घाखाँची । घुमघामको क्रममा अर्घाखाँची पुगेका ५० जना भन्दा बढी विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयासमा स्थानीय प्रशासन लागिपरेको छ ।
अर्घाखाँचीको सीतगंगा ६,–बुङची खोलाको बगरमा नाङ्गै भएर उच्छृङ्खल गतिविधि गरेको आरोप उनीहरुमाथि  छ ।
बेलायत, स्पेन, प्यालेस्टाइन, अमेरिका, जापान, कोरिया, इजरायल, अर्जेन्टिना भारत लगायतका मुलुकका उनीहरु खोलाको बगर किनारको निजी जग्गामा टेन्ट हालेर बसेका छन्।
प्रहरीले उनीहरुलाई त्यहाँ पुर्याउने भनिएका कपिलवस्तुका मोतिराम गैरे , सितगंगा १० हर्रेका शालिकराम पोखरेल ,ललितपुर कुपन्डोलका सुशान्त पौडेल र बाराको कलैया दिपेन्द्र सुनारलाई नियन्त्रणमा लिएर  अनुसन्धान गरिरहेको छ।
यसैबीच  इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक कमल परियारको टोली घटनास्थलमा पुगेको छ ।
प्रहरी निरीक्षक परियारका अनुसार उनीहरु विभिन्न देशका भएका कारण भाषामा समेत समस्या भइरहेको छ।
 ‘अस्वभाविक गतिविधि गर्ने विदेशी नागरिकलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ’, उनले भने ।
शीतगंगा नगरपालिका भित्र पर्ने उक्त क्षेत्रमा जानको लागि अनुमति लिन  विदेशी नागरिकहरुको समूह नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारी कहाँ पुगेका थिए ।
तर आफूले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन सुझाएको अधिकारीले जानकारी दिए। तर उनीहरु अनुमति लिन नगएको खुलेको छ ।
प्रहरीका अनुसार विदेशी नागरिकको यो  समूहसँग सरकारी निकायले दिएको कुनै अनुमति छैन।

तपाईंको बिचार