Friday, May 24, 2019

हिमालपारिका उपल्लो मुस्ताङवासी जाडो छल्न बेंशी झर्न थाले

प्रकाशित मिति: 2018/11/13

पर्वत । जाडो याम सुरु भएसँगै हिमालपारिको जिल्ला मुस्ताङका नागरिकहरु चिसो छल्न बेंशी झर्न थालेका छन्। चिसो याममा मुस्ताङको तापक्रम माइनस डिग्रीमा पुग्ने गर्दछ। चिसोका कारण जनजीवन कष्टकर हुने भएकाले चिसो छल्न बेंशी झर्ने गर्दछन्।

बेंशी झरेका बेला यहाँका वासिन्दाहरु म्याग्दी, पर्वत, बाग्लुङ, पोखरालगायतका क्षेत्रमा जाने गर्दछन्। कात्तिक सुरु भएसँगै मुस्ताङीहरुले ती क्षेत्रमा लत्ताकपडा, सियो, धागो, जिम्बु, सिद्रालगायतका सागम्रीको घुम्ती व्यापार गर्दछन्। बेंसी झर्नेहरुमा सबैभन्दा धेरै उपल्लो मुस्ताङमा रहेका लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुप गाउँका सर्वसाधारण रहने गरेका छन्। उनीहरु फागुनको दोस्रो सातासम्म यस क्षेत्रमा रहन्छन्।

कात्तिकदेखि फागुनसम्म हिमाली जिल्लामा अत्याधिक चिसो हुने भएकाले उनीहरु असोज अन्तिम साताभित्र अन्नबाली थन्काएर बेंशी झर्ने छोसेरकी झ्याली गुरुङले बताइन्। उनका अनुसार चिसो याम सुरु हुनुभन्दा अगावै कोरला नाका हुँदै तिब्बतबाट बेचबिखन गर्ने सामग्री ल्याइन्छ । त्यसबाहेक स्थानीय उत्पादन पनि बिक्रीका लागि तयार गरेर तल्लो क्षेत्रमा झर्ने चलन छ।

यो मौसममा उनीहरुले घुम्ती व्यापारबाट दुईदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने बताइन्छ। उक्त रकमले बर्खायामलाई पुग्ने खाद्यान्न खरिद गरी लैजाने गरेका छन्।

 

तपाईंको बिचार