Sunday, November 17, 2019

एकै वर्षमै भुमे गाउँपालिकाले बनायो आठ पक्की पुल

प्रकाशित मिति: 2018/11/14

रुकुम । रुकुमको भुमे गाउँपालिकाले एकै वर्षमा आठवटा पक्की पुुल निर्माण गरेको छ । गाउँपालिकाले एकै वर्षमा आरसिसी ढलानसहितका आठवटा पक्की पुल बनाएको हो । गत आर्थिक वर्ष ०७४र०७५ मा रु ३५ लाख ४४ हजारको लागतमा पक्की पुल निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाअन्तर्गत वडा नम्बर १ को तुम्बु खोला, २ को मुनु र सैपातुङ खोला, ३ को खासीबाङ खोलामा पुल बनाइएको छ । यसैगरी वडा नम्बर ४ को घट्टे खोला, ६ को टीकुर खोला, ७ को दोमइ खोला र ८ को कोर्जा खोलामा पक्की पुल निर्माण भएका छन् ।

प्रत्येक पुलको लम्बाइ छ मिटरदेखि १२ मिटरसम्म रहेको छ । ती पुलमा गाउँपालिका र स्थानीयको गरी तीनदेखि साढे छ लाखसम्मको लगानी र श्रमदान रहेको छ ।

प्रत्येक वर्ष दुई÷तीन वटा काठका पुल बनाई राख्नुपर्ने र तिनै काठका पुलबाट खोला वारपार गर्दा खोलामा खसेर कयौँले ज्यान गुमाउनुपरेको अवस्थामा पक्की पुल निर्माणले सबैलाई सहज भएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए।

यसै वर्ष वडा नम्बर २ को खाबाङ र ७ को लाबाङ खुजीरीबाङमा पक्की पुल निर्माण गर्न बजेट विनियोजन गरिएको अध्यक्ष बुढामगरले बताए ।

तपाईंको बिचार