Sunday, February 24, 2019

निगमले माग्यो सरकारसँग आर्थिक सहयोगः ३२ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी

प्रकाशित मिति: 2018/11/16

काठमाडौँ । एकपछि अर्को भ्रष्टाचारको आरोपमा मुछिएको नेपाल वायु सेवा निगम तत्कालीन रुपमा झण्डै ३३ अर्ब बढी ऋणमा रहेको देखिएको छ । तर दीर्घकालीन ऋण भने ३९ अर्बभन्दा माथि पुग्ने देखिएको छ ।

निगमले बिहीबार जारी गरेको स्वेतपत्रमा ३२ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी ऋण देखाएको छ । नगद प्रवाहमा संकट आइपरेपछि निगमले सरकारसँग तत्काल आर्थिक सहयोग माग गरेको हो ।

निगमका अध्यक्ष मदन खरेलले वाईडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने रकमका लागि सरकारसँग २० अर्ब रुपैयाँ अनुदान माग गरेको जानकारी दिएका छन् । उनले निगम निकै उच्च वित्तीय जोखिममा रहेको भन्दै सरकारसँग गुहार मागेका हुन् ।

निगमले हाल विभिन्न जहाज खरिदबापतको मात्रै तिर्नुपर्ने ऋण ३२ अर्ब ८७ अर्ब रहेको देखाएको छ । तर दीर्घकालीन कर्जा भने ३९ अर्ब ८२ करोड रुपैयाँ रहेको निगमको भनाइ छ । यो ऋणको अवस्था हेर्दा निगम उच्च वित्तीय जोखिममा देखिन्छ, किनकि अर्बौ‌ ऋणमा किनिएका नयाँ जहाजबाट उसको आम्दानी खासै बढ्न सकेको छैन । हाल निगमले उक्त कर्जाका लागि वार्षिक १०.५०५ का दरले ब्याज तिर्नु परेकाले निगमको तलरता व्यवस्थापनामा समस्या आएको खरेलको भनाइ छ ।

२४ अर्ब ऋणमा वाइडबडी तर बढेन आम्दानी
निगमले हालै खरिद गरेका वाइडबडी विमानले  चार महिना भित्र जापान, दक्षिण कोरिया, चीन र साउदी अरेवियाको नयाँ उडान भर्ने जनाएको छ । तर हाल भने लामो दूरीका नयाँ गन्तव्यमा उडान भर्न नसक्दा वाइडबडीबाट निगमको आम्दानी बढ्न सकेको छैन ।

लामो दूरीका गन्तव्यमा उडान अनुमति नपाउँदा हाल निगमले पुरानै छोटा दूरीमा नयाँ जहाज उडाइरहेको छ । २४ अर्ब ऋण लिएर किनिएका ती जहाजको वार्षिक ब्याज मात्र साढे २ अर्ब हुन आउने खरेलको भनाइ छ ।

निगमले सिमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि स्वेत पत्रमार्फत जानकारी दिएको छ । अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो । वाइडबडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म सरकारले आर्थिक सहायता दिनुपर्ने उनको दाबी छ ।

अधिकृत पुँजीभन्दा लगानी बढी
हाल निगमको अधिकृत पुँजी ३० करोड रुपैयाँ रहेको छ भने पुँजी लगानी ३ अर्ब १० करोड ३८ लाख रहेको छ । अधिकृत पुँजी भन्दा लगानी गरिएको पुँजी निकै बढी भएकाले समस्या भएको निगमको दाबी छ ।

दैनिक १६ घण्टासम्म उड्नुपर्ने नयाँ वाइडबडी जहाज अहिले औसत ५ घण्टा मात्र उडिरहेका छन् । निगमले असार र भदौमा गरी दुइटा वाइडबडी जहाज खरिद गरेको हो । तर यी जहाज खरिदमा ठूलो भ्रष्टाचार भएको आशंकामा अनुसन्धान भइरहेको छ । पहिले लाउडा विमान प्रकरणमा ठूलो घोटाला भएको आरोप लागेको निगममाथि अहिले वाइडबडी खरिदमा पनि ठूलै भ्रष्टाचार भएको आरोप लागिरहेको छ ।

तपाईंको बिचार