Sunday, February 24, 2019

पर्यटकले मन्थलीको व्यवसाय फस्टायो

प्रकाशित मिति: 2018/11/18

रामेछाप । आजभोली मन्थलीमा वाह्य पर्यटकहरुको चाप निकै वढेको छ । पर्यटकहरुको चाप वढेसंगै केही महिनाअघिसम्म सुनसान रहेका मन्थलीका केही होटलहरु यतिखेर खचाखच रहेका छन् । आकाशे विमान स्थलका ती होटलहरु विमान चल्न शुरु भएपछि आउने पर्यटकहरुलाई सामान दिन र पैसा लिन भ्याईनभ्याई भएको हो । कालोपत्रे भएर पनि सुनसान रहेको रामेछापको विमान स्थलमा केही समय यता भने निकै चहलपहल बढेको छ ।

पर्यटकीय सिजन शुरु भएसँगै रामेछापको विमानस्थल प्रयोग गर्दै सोलुको लुक्का जाने विदेशी पर्यटकहरु बढेपछि सदरमुकाम मन्थलीको होटल ब्यवसाय फस्टाएको हो । काठमाडौंबाट सवारी साधनमा रामेछाप आउने पर्यटकहरु ३ वटा विमान कम्पनीहरू तारा एयर, समिट एयर र सीता एयरबाट सगरमाथा आधार शिविरतर्फ आउजाउ गर्ने पर्यटक ओसार्न थालेपछि रामेछापको सुनसान रहेको विमान स्थल व्यस्त रहेको छ भने पर्यटकको आगमनसँगै सदरमुकाममा रहेको होटल तथा पसलहरु ब्यवसाय ६० प्रतिशतले बृद्धि भएको स्थानिय राजकुमार श्रेष्ठले जानकारी दिए ।

सोलुको लुक्ला विमान स्थलमा छिनछिनमै मौसमा खराबि आउँदा त्यसतर्फ हिडेका पर्यटकहरु सदरमुकाम मन्थलीमा नै बस्नु पर्दा मन्थलीको होटलमा पर्यटकहरु भरिभराउ हुने गरेका छन् । मन्थली विमान स्थलबाट दैनिक ५ देखि २४ वटासम्म उडान हुने गरेका छन् ।

यति धेरै उडान यस अघि हुने गरेको थिएन । नियमित धेरै उडान हुँदा मन्थली विमान स्थलबाट दैनिक करिब ४ सयको हाराहारीमा पर्यटकहरु उड्ने गरेको नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख केदारप्रसाद सत्यालले जानकारी दिए । उनले भने– अहिले पर्यटकहरु घुम्ने सिजन शुरु भएसगै रामेछापमा आउने हवाइजहाजहरुको संख्या निक्कै बृद्धि भएको छ । कुनै दिन ५ देखी ७ फ्लाइड मात्र हुन्छ भने मौसम सफा हुँदा दैनिक २४ वटा उडान समेत हुने गरेका छन् । यति धेरै उडान हुँदा विहानको खाना खाने समेत फुर्सद नहुने प्रमुख सत्यालले वताए ।

मन्थलीबाट तीनवटा वायुसेवा कम्पनीहरूले उडान गरे पनि सीता र समिट एयरको सम्पर्क कार्यालय नहुँदा पर्यटकहरुलाई समस्या पर्दै आएको छ । तीन वायुसेवा कम्पनीले केही कर्मचारी र लोडरहरू काठमाडौंबाट झिकाएर अस्थायी रुपमा काम गर्दै आएका छन् । लुक्लाका जाने पर्यटकहरुले रामेछाप आउनु अगाबै काठमाडौंबाटै लुक्कालाको लागि हवाई टिकट लिएर ट्राभल एजेन्सि मार्फत माइक्रो बसमा बिहान ३ बजे काठमाडौंबाट हिड्न पर्यटक बिहान ९ बजे अघि नै लुक्ला पुगिसक्ने गरेका छन् ।

रामेछापमा उडान र अवतरण गर्दा जहाजलाई आकाशमा उडाएर पालो कुर्नु नपर्ने भएकाले चाँडोचाँडो उडान भर्न सहज भएको हो । काठमाडौं विमानस्थल व्यस्त भएकाले चाहे जति उडान गर्न नसक्दा विमान कम्पनीहरूले रामेछापबाट उडान भर्र्न थालेका हुन् । काठमाडौं विमानस्थलबाट एक उडान गर्दा रामेछापबाट तीनपटकसम्म उडान हुने तारा एयर रामेछापका स्टेशन प्रमुख प्रविण सुवेदीले जानकारी दिए ।

नेपाल आयल निगमले मन्थलीमा हवाई इन्धनको डिपो सञ्चालन गर्दा उडान र अवतरणका लागि सहज भएता पनि निगमका कर्मचारीको बेवास्थाका कारण बारम्बार डिपोमा इन्धन नहुँदा हवाई कम्पनीहरूले चाहे जति उडान भर्न भने नसकेको गुनासो स्थानिय युवराज श्रेष्ठको रहेको छ ।

तपाईंको बिचार