Thursday, June 27, 2019

मन्थली विमानस्थलमा पर्यटकको चहलपहल, दैनिक २४ वटासम्म उडान

प्रकाशित मिति: 2018/12/04

रामेछाप । कालेपत्रे भएको दुई वर्ष भइसक्दा पनि सुनसान रहेको रामेछापको सदरमुकामको मन्थली विमानस्थलमा पर्यटकको चहलपहल बढेको छ। पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको विमानस्थल प्रयोग गर्दै सोलुको लुक्ला जाने विदेशी पर्यटक बढेपछि मन्थली विमानस्थलमा चहलपहल बढेको हो। मन्थली विमानस्थल प्रयोग गरेर सोलुखुम्बु जिल्लाको लुक्ला जाने विदेशी पर्यटक बढेसँगै रामेछापको सदरमुकाम मन्थलीका होटल व्यवसायको आम्दानी पनि ६० प्रतिशतले बढेको व्यवसायी राजकुमार श्रेष्ठले बताए। विदेशी पर्यटकहरू काठमाडौंबाट मन्थलीसम्म माइक्रोबसमा आउने र मन्थली विमानस्थलबाट तारा एयर, समिट एयर र सीता एयरका विमानबाट सगरमाथाको आधार शिविर आवतजावत गर्ने गरेका छन्। मन्थली विमानस्थलबाट दैनिक पाँचदेखि २४ वटासम्म उडान हुने गरेको नागरिक उड्डयन रामेछापका प्रमुख केदारप्रसाद सत्यालले बताए। मन्थली विमानस्थल निर्माण भएयताकै सबैभन्दा धेरै उडान हो। अहिले मन्थली विमानस्थल भएर दैनिक करिब ४०० विदेशी पर्यटक आउने गरेको सत्यालले बताए। मन्थलीबाट तीनवटा वायुसेवा कम्पनीले उडान गरे पनि सीता र समिट एयरको सम्पर्क कार्यालय मन्थलीमा नहुँदा पर्यटकहरूलाई हवाइ टिकट लिन समस्या हुने गरेको छ। सीता र समिट वायुसेवा कम्पनीले केही कर्मचारी र लोडरहरू काठमाडौंबाट ल्याएर अस्थायी रूपमा काम गर्दै आएका छन्। काठमाडौं विमानस्थल व्यस्त भएकाले चाहे जति उडान गर्न नसक्दा विमान कम्पनीहरूले रामेछापबाट उडान भर्न थालेका हुन्। काठमाडौं विमानस्थलबाट एक उडान गर्दा रामेछापबाट तीन उडान हुने एयरलाइन्सको भनाइ छ। मन्थली–काठमाडौंका लागि सीता एयरले मंगबार, तारा र समिट एयरले शुक्रबार नियमित उडान भर्ने तालिका छ तर तिनले कार्यतालिकाअनुसारको उडान भर्ने गरेका छैनन्। मन्थली विमानस्थल कालोपत्रे भएको दुई वर्ष बितिसक्दा पनि विमान कम्पनीहरूले रामेछाप–काठमाडौंका लागि कार्यतालिकाअनुसार विमान सञ्चालन नगरेको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख सत्यालले बताए। नेपाल आयल निगमले मन्थलीमा हवाइ इन्धनको डिपो सञ्चालन गरे पनि कर्मचारीको बेवास्ताका कारण बारम्बार डिपोमा इन्धन नहुँदा हवाइ कम्पनीहरूले चाहे जति उडान भर्न भने सकेका छैनन्।

 

तपाईंको बिचार