Tuesday, June 18, 2019

जाडो छल्न बाहिरिंदै मनाङवासी

प्रकाशित मिति: 2018/12/05

मनाङ । मंसिरको शुरुवातसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् ।
प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मंसिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन । जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन् ।
मंसिर, पुस र माघमा जाडो छल्न स्थानीयवासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् । स्थानीयवासी विनोद गुरुङका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यावसायी जाडो छल्न जिल्ला बाहिर जाने गर्छन् ।
‘जाडो छल्न काठमाडौं, पोखरालगायतका शहरमा जानेको संख्या बढी छ’, गुरुङले भने । माथिल्लो भेगमा हिउँ पर्न शुरु भइसकेको छ । अब विस्तारै तल्लो भेगमा हिउँ पर्न थाल्छ । चिसो बढेसँगै यहाँको गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ ।
विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन अन्यत्र लाग्छन् । ‘गाउँमा घरकुरुवा मात्र बस्न्छन्’, चौँरीपालक किसान सुरेश थकालीले भने । हिमाली भेगबाट भेडाबाख्रा र चौँरी बेसी सार्ने तथा चिसो कम हुने ठाउँमा राख्ने चलन छ ।
चौँरीगोठ मनाङको नासो गाउँपालिकाका लेकमा राखिने तथा भेडा च्याङ्ग्रा लमजुङको बाहुनडाँडा र घनपोखरा पुर्‍याउने थकाली बताउँछन् । माथिल्ला भेगमा रहेका खर्कबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगमा सार्ने तयारीमा किसान जुटेका छन् ।
अबको तीन महिना माथिल्लो भेगमा हिउँ पर्छ । अति जाडो हुन्छ । घाँस पुरै हिउँले ढाकिन्छ । त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन् ।
यस क्षेत्रका किसानको माथिल्लो भेग र तल्लो भेगमा गरी दुई गोठ हुन्छन् । चिसो बढेसँगै माथिल्लो भेगबाट किसानले याक, चौँरी, च्याङ्ग्रा र भेडाबाख्रा तल्लो भेगका तालगाउँ, धारापानी, दानाक्यूलगायत ठाउँमा सार्ने गर्दछन् ।
मंसिर, पुस र माघमा हिमपात हुने भएकोले स्थानीयवासी चिसो मौसम शुरु हुनुअगावै दाउरा सङ्कलनमा जुट्छन् । होटल व्यवसायीले कामदार लगाएरै दाउरा सङ्कलन गर्छन् ।
यो समयमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारीले स्थानीयवासीबाट दाउरा खरिद गर्छन् । स्थानीयवासी तथा कर्मचारीलाई आफ्नो व्यक्तिगत उपयोगका लागि दाउरा सङ्कलन गर्नका लागि कुनै समस्या छैन ।
कर्मचारी कार्यालयकै कामकाजमै व्यस्त हुने भएकाले दाउरा सङ्कलन गर्न भ्याउँदैनन् । त्यसैले कर्मचारीले स्थानीयबाटै दाउरा खरिद गर्छन् । दाउरा सङ्कलन गर्नेले नियमअनुसार शुल्क तिरी दाउरा सङ्कलन गर्नुपर्ने चामेकी धनमाया विकले बताइन् ।
‘शुल्क तिरी दाउरा जम्मा गर्छौैैँ । दाउरा बेच्दा प्रतिभारी रु १५० लिन्छौँ । एक चट्टा दाउरा घरसम्म पुर्‍याइदिएको रु दश लाग्छ’, उनले भनिन् । हरेक गाउँपालिकाले दाउरा सङ्कलनका लागि स्थानीयस्तरमै दाउरा सङ्कलन समिति गठन गर्दै आएका छन् ।
‘समितिको रोहवरमा मात्रै दाउरा सङ्कलन गरिन्छ’, चामे गाउँपालिकास्तरीय दाउरा सङ्कलन समितिका अध्यक्ष अनिता लामा बताउँछिन् । चिसो याममा स्थानीयवासीले आगो ताप्नका लागि दाउराको उपयोग गर्छन् ।

तपाईंको बिचार