Saturday, August 24, 2019

नाटोजलाई महासंघ बनाउने चुमखोला विस्तारित बैठकको निर्णय

प्रकाशित मिति: 2018/12/09

मंसिर २३ काठमाडौं । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) अब महासंघ बन्ने भएको छ । शनिबार बनभोजसँगै गोरखा विच एडभेन्चर रिसोर्टमा सम्पन्न चुमखोला विस्तारित बैठकले नाटोजलाई महासंघ बनाउने घोषणा गरेको हो ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारी (अविरल)ले पर्यटन क्षेत्रमा कलम चलाउने सबै पत्रकाहरुलाई समेट्दै संस्थागत रुपमा पर्यटन प्रवद्र्धन र विकासमा योगदान पु¥याउनका लागि नाटोजलाई महासंघीय संरचनामा लैजानुपर्ने प्रस्ताव राख्नुभएको थियो । उहाँको सो प्रस्तावलाई बैठकले अनुमोदन गरेसँगै नाटोजलाई महासंघीय ढाँचामा जाने बाटो खुलेको हो । यसअघि केन्द्रीय उपाध्यक्ष प्रकाश खालिङको संयोजकत्वमा एक वार्ता समिति नै गठन गरेर पर्यटन पत्रकारहरुको अन्य संस्थाहरुसँग एकता वार्ता अघि बढाइएको थियो ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै नाटोजका मानार्थ सदस्य तथा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले महासंघीय ढाँचामा गएपछि नाटोजको संस्थागत योजना तथा कार्यक्रम थप सशक्त हुने विश्वास व्यक्त गर्नुभयो । एक अर्को प्रसंगमा महतले अहिलेको सरकारले विना पूर्व तयारी नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको आरोप लगाउँदै लक्षित योजना पूरा हुन सक्नेमा आशंका व्यक्त गर्नुभयो । ‘एउटा उद्देश्य राखिसकेपछि पूरा गर्नका लागि पर्याप्त पूर्वाधार हुनुपर्दछ’ उहाँले भन्नुभयो ‘नेपाल भ्रमण वर्षको निर्णय भयो तर संयोजक नियुक्त गर्ने काम भरखरै मात्र भयो । हामीसँग अब एक वर्ष मात्रै समय बाँकी छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष समयको हिसाबले उद्देश्य पूरा नहुन सक्छ ।’

पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य तथा वरिष्ठ पर्यटन व्यवसायी गणेश सिंखडाले नाटोजको नीति र नेतृत्व डाइनामिक भएको चर्चा गर्दै चुमखोला विस्तारित बैठक ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुभयो । तत्कालिन नेकपा माओवादीको चुनवाङ बैठकले नेपाली राजनीतिक परिवर्तनमा नयाँ पृष्ठभूमि तयार पारेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘नाम पनि चुनवाङ र चुमखोला झण्डै झण्डै मिल्यो । नाटोजको यो चुमखोला विस्तारित बैठकको महासंघ बनाउने एकबुदे ऐतिहासिक घोषणाले नेपाली पर्यटन पत्रकारितामा नयाँ पृष्ठभूमि तयार पारेको छ । यसले नेपाली पर्यटन प्रवद्र्धन र विकासमा पनि ऐतिहासिक योगदान पुग्ने विश्वास लिएको छु ।’

नेपाल योग एसोसिएशनका अध्यक्ष मोहन लम्सालले पर्यटन क्षेत्रका हरेक पक्षलाई उजागर गर्नका लागि नाटोजले खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै महासंघ बनेपछि थप सशक्त योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा पर्यटन पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो ।

 

तपाईंको बिचार