Saturday, October 19, 2019

पर्यटकीय केन्द्र ठमेलमा खुल्योे अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’

प्रकाशित मिति: 2018/12/26

काठमाडौंको पर्यटकीय केन्द्र ठमेल बजारमा ‘छायाँ सेन्टर’ संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमबीच कम्प्लेक्सको औपचारिक सुरुवात गरिएको हो ।
‘ठमेलभित्रको ठमेल’ का रुपमा कम्पनीले प्रवद्र्धन गरेको छायाँ सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको संचालकहरुको दाबी छ । उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ को रुपमा प्रवद्धन गरिएको छायाँ सेन्टरको भनाई छ ।
पर्यटकीय व्यवसायिक गन्तव्यका रुपमा छाँया सेन्टर सञ्चालनमा ल्याइएको हो । कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामाग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लब लगायत सुविधा पनि उपलब्ध छन् । यस्तै, बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहनेछन् ।
साथै छाँया सेन्टरमा पाँच तारे स्तरको अलफ्ट होटल पनि आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छाँया सेन्टरले जनाएको छ । यो होटल म्यारिएटको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको हो ।
अहिले होटलको इन्टेरियर डिजाइनको काम हुँदैछ । १५ तले भवनको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुनेछ । होटलसँगै छायाँ सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ ।
ठमेलमा करिब १५ रोपनी क्षेत्रफलमा बनेको यो अत्याधुनिक व्यापारिक कम्प्लेक्स सन् २०१३ बाट निमार्ण थालिएको थियो । प्राविधिक कारणले निर्माण कार्य केही लम्बिएका कारण लक्षित समय भन्दा केहि ढिला गरि छायाँ सेन्टर संचालनमा आएको हो । पाँच बर्ष लगाएर निमार्ण गरिएको सेन्टरको लागत समेत पाँच अर्ब माथि पुगेको निमार्ण पक्षले जनाएको छ ।पर्यटनको अथाह सम्भावना रहेको नेपालमा होटलसहितको नमुना सपिङ् कम्प्लेक्स संचालन गर्न लागिएको छाँया सेन्टरका अध्यक्ष पृथ्वी बहादुर पाँडेले बताए । ठमेल बजारमा पाइने सबै सुविधा उपलब्ध रहेको कम्प्लेक्सले ठमेलको पर्यटनलाई मात्रै नभई समग्र नेपालको पर्यटन क्षेत्रको स्तरवृद्धि गर्न सहयोग र्पुयाउने विश्वास उनको छ ।
कम्प्लेक्समा तीन सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निर्माण गरिएको छ । यो नेपालकै नमूना र व्यस्त कम्प्लेक्स हुनेमा कम्पनीका लगानीकर्ता आशावादी छन् ।
नेपाल इन्भेष्टेमन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको नेतृत्वमा बैंकिंग, निर्माण, जलविद्युत, व्यापार, उद्योग, पर्यटन लगायत विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागितामा छाँया सेन्टर सञ्चालनमा आएको हो ।

तपाईंको बिचार