Sunday, February 24, 2019

म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियान सुरु

प्रकाशित मिति: 2018/12/26

म्याग्दी । आकस्मिक बिरामी र दुर्घटनाका घाईतेको तत्काल उद्दार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियान थालिएको छ ।

स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् ब्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरेको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ सुरू गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।

दुई वर्षभित्र ६ वटै स्थानीय तहका ४५ वडामा हेलिप्याड बनाउने लक्ष्य राखिएकोमा एक महिनामै ५ वटा निर्माण भइसकेको छ । एउटा हेलिप्याड बनाउन करिव ३० हजार खर्च लाग्छ ।

विकट वडाको एक बस्तीबाट अर्कोमा पुग्न एक दिनसम्म लाग्ने भएकाले एउटै वडामा ३ वटासम्म हेलिप्याड आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले औंल्याएका छन् । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकको आवत–जावतसमेत सहज बनाउने ठानिएको छ ।

तपाईंको बिचार