Saturday, August 24, 2019

भ्रमण वर्ष २०२० व्यक्तिलाई दायाँ हात, संस्थालाई लात

प्रकाशित मिति: 2018/12/30

काठमाडौं । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’ आउन धेरै समय छैन । तर, त्यसका ठोस् योजना तथा कार्यक्रम खास आउन सकेको छैन । सरकारले ढिलोगरी भ्रमण वर्षको संयन्त्र गठन गर्दैछ तर, अधिकांश निर्णय विवादमा पर्दै आइरहेको छ । 

यस्तै विवादको बीचबाट उद्योगी सुरज बैद्यलाई भ्रमण वर्षको राष्ट्रिय संयोजक तोकेसँगै गत मंसिर २७ गतेको मन्त्रीपरिषद बैठकले पर्यटन सचिवको संयोजकत्वमा १९ सदस्यीय कार्यक्रम कार्यान्वयन उपसमिति गठन गरेको छ । यो उपसमिति गठनमाथिको असन्तुष्टिले अहिले पर्यटन बजारमा तरंग नै उत्पन्न गरेको छ ।  

मन्त्रीपरिषदले यस्तो निर्णय गरेसँगै नेपाल पर्यटन बोर्डकाभित्रैबाट गम्भिर असहमति आउन थालेको छ  ।  यसैबीच, बोर्ड सञ्चालक समिति सदस्य दिपक महतले उपसमिति गठनमा गम्भिर त्रुटी भएको प्रतिक्रिया जनाउनुभएको छ । उहाँले उपसमिति गठनमाथि असन्तुष्टि जनाउँदै त्यसको कारणसमेत पेश गर्नुभएको छ । 

आधा जस्तो पर्यटन क्षेत्रमा नामै नसुनिएका व्यक्तिलाई उपसमितिमा मनोनित गरिएको महतले पहिलो कारण देखाउनुभएको छ । त्यस्तै क्षेत्रगत प्रतिनिधित्वका हिसाबले पनि सरकारले गल्ती गरेको ठहर उहाँको छ । ‘पोखरा बाट १, लुम्बिनिबाट १ बाहेक बाँकि सबै काठमाडौँको प्रतिनिधित्व र देशको अन्य भागहरुलाई नसमेटिएको र प्रोडक्ट बेस हुनुपर्नेमा एप्रोच बेस भएको देखियो’ उहाँको भन्नुहुन्छ । त्यस्तै अर्को असन्तुष्टिको बुदामा उपसमिति गठन गर्दा पर्यटकीय संघसस्थाहरुको नाम लिन नचाहेको भनाइ पनि उहाँको छ । ‘यस्तो उपसमितिहरुमा प्रडक्ट बेस भएका एनएमए, हान, टान, नाट्टा, नारा, टुर्गान, नाटोज, एनटीभीए, टीटीडीसी जस्ता संघसंस्थाहरुबाट सँस्थागत रुपबाटै १÷१ जना प्रतिनिधि पठाउनेगरी तोकिनु पर्दथ्यो’ महतले थप्नुभयो ‘पर्यटन बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने र संघ संस्थाहरुमा क्रियाशिल नेतृत्व कसैको पनि उपस्थिति नरहेको र कोहि कसैको उपस्थिति रहेको भए पनि नाम मात्रको र ब्यक्तिगत उपस्थिति मात्र रहेको छ ।’

उहाँले नेपालको पर्यटन बिकासका लागि बिदेशी पर्यटक भित्राउन महत्वपूर्ण भुमिका खेलिरहेको हिमालयन ट्राभल मार्ट गर्ने पाटा नेपाल, बिआईटिम जस्तो महत्वपुर्ण कार्यक्रम गर्न राज्यले नै जिम्मेवारी दिएको नाट्टा र नेपालको पर्वतीय पर्यटनको बिकास र प्रवद्र्धनमा इतिहास निर्माण गरेर कोसेढुङ्गो बनेको नेपाल पर्बतारोहण संघसमेत यस उपसमितिमा अटाएको नदेखिएको भन्दै आपत्ति जनाउनुभयो । 

यस्तो असन्तुष्टि जनाउने महतमात्रै नभएर थुप्रै व्यवसायीहरु छन् । उनीहरुले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत आआफ्नो असन्तुष्टि पोखिरहेका छन् । अधिकांश व्यवसायीहरुले यसरी असन्तुष्टि पोखेपछि पर्यटन क्षेत्रमा भ्रमण वर्षको बारेमा गम्भिर बहस सुरु भएको छ । 

तपाईंको बिचार