Monday, August 26, 2019

टानको साधारणसभा विधि र प्रक्रियागत नभएको खुलासा

प्रकाशित मिति: 2018/12/30

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को ४०औं वार्षिक साधारणसभाले सदस्यहरुको समस्या झन बल्झाइदिएको छ । साधारणसभामा विगतको घनिभूत समिक्षा गर्दै नयाँ योजना तथा कार्यक्रम तय गर्नुको सट्टा हलमा उठेका दर्जनौं प्रश्नको जवाफ नदिई नेतृत्व मुकदर्शक बनेपछि समस्या बल्झिएको हो ।  हरेक वार्षिकोत्सव व्यापक उपस्थितिबीच हुने गरेपनि गत विहिबार काठमाडौंमा आयोजित ४०औं वार्षिक साधारणसभाको बन्दसत्र गणपुरक संख्या नपु¥याई बलजफती बसाइयो । 

साधारण सदस्यको उपस्थिति पुस्तिकामा १४१६ जनाको नाम उल्लेख भएपनि जम्मा ३३४ जनाको मात्र हस्ताक्षर छ । जसबाट स्पष्ट हुन्छ कि साधारण सभाको उपस्थिति ३३४ जना हो  । यो संख्या टानको जम्मा सदस्य संख्याभन्दा निक्कै कम हो ।  यही तथ्यलाई टेकेर यस्तो साधारणसभा मान्य नहुने भनी टानका सदस्यहरुले अहिले मुद्धामा जाने संकेत गरेका छन् । 

टान अध्यक्ष नवराज दाहालले विधि र प्रक्रिया पूरा नगरी बन्दसत्र चलाउन खोजेपछि हलभित्र घम्साघम्सी र कुर्ची हानाहानको स्थिति उत्पन्न भएको थियो । बन्द सत्रमा गम्भिर खालका दर्जनौं प्रश्न उठाइएका थिए । मनोनित सदस्य मनोनयन गर्दा पैसा खाएको, ३९औं साधारण सभामा ७० वटा कम्पनीहरुसँग उधारो नवीकरण गरेको र कतिपयले निर्वाचन पश्चात भुक्तानी गरेपनि कतिपयको अझै भुक्तानी नभएको, आधिकारिक बिल र भर्पाई बिनानै खर्च गर्ने गरिएको, जुन कुरा कोषाध्यक्षले पेस गरेको लेखा प्रतिबेदनबाट पुष्टि भएको तथ्यसहितको प्रश्न सदस्यहरुले उठाएका थिए ।  

त्यस्तै लेखा प्रतिबेदनमा अडिट गरेको चार्टर एकाउन्टेन्ट्ले कैफियत महल खडा गरी टानले पेस गरेको बिल भर्पाईप्रति आफ्नो असहमति उल्लेख गरेको, ट्राभल मार्टमा गएका टान कार्यसमितिका मान्छेहरु भुक्तानी बिना रिसिप्ट काटेर बिदेश गएको आरोपसमेत नेतृत्वमाथि सदस्यहरुले लगाएका छन् ।

त्यसैगरी केही कम्पनीबाट आफ्नो कम्पनीमा कामै नगरेको ब्यक्तिलाई आफ्नो स्टाफ भन्दै ढाटेर टान र पर्यटन बोर्डको सिफारिस मागेर ट्राभल मार्टको नाममा बिदेश लगेर छोडिआएको विषयमा टान मौन बसेको आरोप पनि लागेको छ ।

त्यस्तै टानको माइन्युट लेख्ने गरिएपनि अधिकांश माइन्युटको निर्णयमा हस्ताक्षर नभएको पाइएको तथा माईन्युटको निर्णय सदस्य कम्पनीहरुलाई सर्कुलर गर्दा आर्थिक पक्ष लुकाएर अन्य निर्णय मात्र पठाउने गरिएको प्रति सदस्यहरुले कटाक्ष गरेका थिए । पर्यटन ऐनमा प्राईभेट पार्टिलाई हिमाल बेच्न खोजिएपनि टान यस बारेमा मौन बसेको, बिद्यमान विधान अनुसार मजदुरहरुको, भत्ता बृद्धि गर्नुपूर्व सदस्य कम्पनीहरुको लिखित सुझाव लिनुपर्ने व्यवस्थाबिपरित कार्यसमितिले एकपक्षीय रुपमा बृद्धि गरेको आरोप पनि सदस्यहरुले लगाएका छन् । केहि दिनअघि गुर्जा हिमाल आरोहणको क्रममा मृत्यु भएका तर टिम्स कार्ड नलगेकाहरुको मृत्यु हँुदाका बखत सम्बन्धित कम्पनीले सम्पुर्ण क्षतिपूर्ति दिनुपर्नेमा मृत्यु भइसकेपछि मात्र टिम्स कार्ड इस्यू गरेर टानले नेपाल पर्यटन बोर्डबाट क्षतिपूर्तिको रकम भुक्तानी गर्न सिफारिस गरेकोबारे पनि प्रश्न उठेको थियो । 

तर, टान अध्यक्ष नवराज दाहालले सदस्यहरुबाट उठेका यस्ता निर्मम प्रश्नहरुको चित्तबुझ्दो उत्तर दिनुको सट्टा लटरपटल गरेर साधारणसभा सक्ने मेलोमात्रै गरेका थिए । 

तपाईंको बिचार