Monday, September 16, 2019

७१ करोडको लागतमा नेपालगन्जमा ‘द गोल्डेन ब्लिस होटल एन्ड रिसोर्ट’ संचालनको तयारीमा

प्रकाशित मिति: 2018/12/31

नेपालगन्ज । पछिल्लो समयमा आएर बाँकेमा करोडौं लगानीका अत्याधुनिक होटलहरू खुल्ने क्रम जारी रहेकै बेला ७१ करोड बढीको लगानीमा भारतीय पर्यटकलाई लक्षित गरेर थप एक अर्को नयाँ होटल तयार भइरहेको छ ।

होटल तथा रेस्टुराँहरूको हब बन्दै गैरहेको नेपालगञ्जमा ‘द गोल्डेन ब्लिस होटल एन्ड रिसोर्ट’ केही समयभित्रै सञ्चालनमा आउन लागेको जनाइएको छ । करिब पौने अर्बको लगानीमा ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ निर्माण भइरहेको छ । भारतको हस्पिटालिटी क्षेत्रमा ख्याति कमाउँदै अगाडि बढेको ब्लिससँग मार्केटिङमा साझेदारी गरेको उक्त कम्पनीले भारतीय पर्यटकहरूलाई नै बढी लक्षित गरेको जनाएको छ । 

नेपालगन्ज विमानस्थल नजिकै जानकी–६ मा ४१ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ दुई महिनाभित्रै सञ्चालनमा आउने गरी तयारी भइरहेको प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए । दुई दशकदेखि हस्पिटालिटि क्षेत्रमा अनुभव बटुलेका यादवले २०५६ सालदेखि नेपालगन्जमा भेरी होटल सञ्चालन गरिरहेका छन् । “तारे होटल सञ्चालनका अनुभव पनि लिइसकेकाले नेपालगन्जमा बिल्कुलै नौलो तरिकाबाट सर्भिस प्रोभाइड गर्दैछौं,” ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’का प्रबन्ध निर्देशक यादवले भने, “मेरो सेवा सुरु भएपछि नेपालगन्जको हस्पिटालिटीमा नयाँ रौनक थपिनेछ ।”

गत वर्षदेखि होटल बाटिकाको व्यवस्थापन समेत सम्हालेका अनुभवी यादवले झन्डै ५ वर्ष काठमाडौंमा कुमारी होटल व्यवस्थापन हेरेको बताउँछन् । “मेरो होटलबाट होटलको व्यवस्थापनले ५ तारे सुविधा उपलब्ध गराउने छ,” वातावरण मैत्री ४८ वटा कोठाबाट सेवा शुभारम्भ गर्न लागेको जनाउँदै यादवले तिहारमा ‘सफ्ट लन्चिङ’ र जनवरीबाट पुरै सेवा सञ्चालनमा ल्याउने योजना रहेको बताए । 

७१ करोडको लागतमा होटल तयार भैरहेको जनाउँदै ‘द गोल्डेन ब्लिस होटल एन्ड रिसोर्ट’का प्रबन्ध निर्देशक यादवले नेटवर्किङ र प्याकेजमा आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालगन्ज ल्याउने बिशेष योजना बनाएको बताए । “मेरो अनुभव र अहिलेसम्मको लगानीलाई मूर्तरूप दिन यो मेरो ड्रिम प्रोजेक्ट हो,” कमाउधन्दाभन्दा सेवामूलक व्यवसायका रुपमा हस्पिटालिटी क्षेत्रलाई लिइनुपर्ने तर्क गर्दै यादवले भने, “नेपालगन्जमा द गोल्डेन ब्लिस होटल एन्ड रिसोर्टले केही नयाँ प्रयोग गरेर देखाउँदै छ ।” त्यसका लागि भारतीय अनुभवी कम्पनीसँग मार्केटिङमा साझेदारी गरेको यादवको भनाइ छ । भारतीय पर्यटकहरूलाई मध्यनजर गरेर आगामी वैशाख भित्रै होटलमा क्यासिनो सञ्चालनका लागि पनि तयारी अगाडि बढिसकेको यादवले जानकारी दिए ।

तपाईंको बिचार