Tuesday, June 18, 2019

बसन्तपुरमा ११ औं टोपी दिवसः तीन सय भन्दा बढिले लगाए टोपी

प्रकाशित मिति: 2019/01/01

काठमाडौं । ११औं टोपी दिवसलाई राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले भव्य रुपमा मनाएको छ । दिवसको अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा तीन सय भन्दा बढिले टोपी लगाए ।

नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना गरिएको सो कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले टोपी नेपाली पहिचानको प्रतिकमात्रै नभएर पर्यटन प्रवद्र्धनको माध्यम भएको बताए । भ्रमण वर्ष सन् २०२० मा उपहारको रुपमा टोपी वितरण गर्दा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक खुसी हुने उनको भनाइ थियो । उनले भ्रमण वर्ष सफल पार्नका लागि सबैलाई अपनत्व हुने खालका योजना तथा कार्यक्रम तय गर्नुपर्ने आवश्यकतासमेत औल्याए ।

कार्यक्रम संयोजक जनार्दन अर्यालले टोपी दिवस ११ औं संस्करणसम्म आइपुग्दा सबैमा उत्साह देखिन थालेको बताउँदै यसलाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुम सुवेदी, नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य गणेश सिंखडा र राजेन्द्र सापकोटा, नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुल बहादुर गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, नाटोजका केन्द्रीय उपाध्यक्ष प्रकाश खालिङलगायत व्यवसायी तथा पत्रकार गरी सयौंको उपस्थिति रहेको थियो ।

तपाईंको बिचार