Saturday, October 19, 2019

मकवानपुरको थाहा नगरमा २ स्थानबाट प्याराग्लाइडिङ उड्ने, परीक्षण उडान सफल

प्रकाशित मिति: 2019/01/04

काठमाडौँ । मकवानपुरको उत्तरी क्षेत्र चित्लाङको बिशुन्खेल र पालुङको कुटी पकलबाट प्याराग्लाइडिङ उड्ने भएको छ ।
पर्यटकीय नगरी थाहा नगरपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण उडान पनि भएको छ । सफल परीक्षणसँगै थाहा नगरमा अब व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाइने भएको हो ।
थाहा नगरपालिका मेयर लवशेर विष्टले भने ‘थाहा नगरपालिकामा बिशुन्खेल र कुटीपकलमा प्याराग्लाइडिङ प्रारम्भिक अध्ययन भैरहेको छ ।’
थाहानगर(१० को बिशुन्खेलमा रहेको आइतबारे चौरबाट गरिएको परीक्षण उडान सफल भएको र अब व्यवसायिक रूपमा नै प्याराग्लाइडिङ गर्न सकिने पाइलट सागर क्षेत्रीले बताए । पाइलट क्षेत्रीले नै प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए ।
थाहा नगरपालिका १० नम्बर वडा अध्यक्ष हीराबहादुर गमालले भने ‘परीक्षण उडान सफल भएको छ, केही समयमा नै हामी थाहा नगरमा प्याराग्लाइडिङको सेवा सुरु गर्छौ ।’
प्याराग्लाइडिङको सफल परीक्षणसँगै मकवानपुरको पर्यटकीय क्षेत्र आग्रा, टिष्टुङ, दामन, पालुङ, बज्रबाराही जस्तै चित्लाङको बिशुन्खेलमा पर्यटकको आवागमन बढ्ने वडाध्यक्ष गमालले अनुमान गरे ।
प्रदेश सरकारले थाहा नगरपालिकालाई यसवर्ष पर्यटन नगरको रुपमा घोषणा गरेर काम गरिरहेको छ । प्रदेश सरकारले भीमफेदी गाउँपालिका, थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिकालाई मिलाएर एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम समेत अगाडि बढाइरहेको छ । प्रदेश सरकारले यसवर्ष ‘घुम्न जाऔं दामान’ वर्ष समेत घोषणा गरिसकेको छ ।

 

तपाईंको बिचार