Sunday, February 24, 2019

६० हजार बाह्य पर्यटकले गरे मुस्ताङको भ्रमण

प्रकाशित मिति: 2019/01/05

पर्वत । हिमालपारिको जिल्लाका रुपमा परिचित मुस्ताङमा एक वर्षभित्र करिब ६० हजार बाह्य पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयको तथ्यांकअनुसार २०१८ मा ५९ हजार ८३८ बाह्य पर्यटकले मुस्ताङे भ्रमण गरेका छन्। एक्याप जोमसोमका प्रमुख तुलसी दाहालका अनुसार सन् २०१७ को तुलनामा २०१८ मा बाह्य पर्यटक आगमन १२ प्रतिशतले वृद्धि भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ भ्रमणमा आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक छन्। भारतीयपछि जर्मनी र फ्रान्सका नागरिक छन्। तथ्यांकअनुसार भारतीय ३३ हजार १५९, जर्मनी तीन हजार २१० र फ्रान्सेली तीन हजार ८९ छन्। सन् २०१७ मा ५२ हजार ४७५ बाह्य पर्यटकमध्ये २४ हजार ८०८ भारतीय, तीन हजार १२३ फ्रान्सेली र दुई हजार ६३९ जर्मनी थिए। पछिल्लो समय प्रचारप्रसार, सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसमलगायतले पर्यटक आगमन बढेको बताइएको छ। गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको मुक्तिनाथ भ्रमणले पनि मुक्तिनाथ र मुस्ताङको पर्यटन विकासमा सहयोग पु¥याएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए। माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षण छन्। मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउनेहरु विभिन्न मुलुकबाट आउने गर्दछन्। पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन्। बिदा, चाडपर्व र विशेष अवसर पारेर मुस्ताङ भ्रमणमा जाने स्वदेशी पर्यटकको पनि चाप बढेको छ।

 

तपाईंको बिचार