Wednesday, August 21, 2019

विमान खरिद प्रकरणमा मेरो कुनै संलग्नता छैनः मन्त्री अधिकारी

प्रकाशित मिति: 2019/01/07

काठमाडौं । विमान खरिद प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले भित्र्याएका २ वटा वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् । उनले आफूविरुद्ध पूर्वाग्रह राखी प्रतिवेदन तयार गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले विमानको बाँकी किस्ता भुक्तानी गर्नु आफ्नो गल्ती नरहेको प्रष्ट पारेका छन् । तत्कालीन सर्वोच्च अदालतको फैसालाबाट समेत विमान खरिदका लागि बोलपत्र आह्वान कानुन बमोजिम नै भएको भेटिएपछि आफूले रकम भुक्तानी गरेको उनले बताए ।

आफ्नो पालामा दिइएको भुक्तानी रकम रोक्का गर्ने कुनै आधार नभएको समेत मन्त्री अधिकारीको दाबी छ । ‘सर्वोच्च अदालतले समेत बोलपत्र आह्वान कानुन बमोजिम नै रहेको फैसला गरेको भेटियो,’ उनले भने, ‘मैले भुक्तानी रोक्ने अवस्था नै थिएन । रोकेको भए न त जहाज प्राप्त हुने थियो, न बुझाइसकेको रकम नै फिर्ता आउने अवस्था थियो । निगम टाट पल्टिने अवस्था आउनुभन्दा खरिद गर्नु नै उचित ठानेको हुँ ।’

आफूविरुद्ध अनुमान र पूर्वाग्रहका आधारमा आरोपहरु लगाइएको भन्दै उनले सो प्रकरणमा भएको घोटलाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताए । साथै नागरिकको आफूप्रतिको विश्वास टुट्न नदिने समेत उनले प्रतिबद्धता जनाए ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिले निगमद्वारा गत असार र भदौमा भित्र्याइएका २ वटा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । सो प्रकरणमा दुईजना पूर्व पर्यटनमन्त्री, बहालवाला पर्यटन मन्त्रीका साथै ३ जना सचिवहरुलाई कारबाही सिफारिस गरिएको थियो ।

तपाईंको बिचार