Sunday, June 16, 2019

पर्यटन क्षेत्रका लिजेन्डरी व्यक्ति पायोनियर जिडी श्रेष्ठको निधन

प्रकाशित मिति: 2019/01/09

काठमाडौं। पर्यटन क्षेत्रका पायोनियर गोविन्ददास श्रेष्ठ (जिडी) को ८७ वर्षको उमेरमा निधन भएको छ। पाँच महिना अगाडीदेखि श्वासप्रश्वासमा समस्या आएपछि श्रेष्ठ भारतस्थित लिलावत उपचारत थिए।

उनको बुधबार विहान पौने ६ बजे निधन भएको हो। उनी र्याडिसन होटलका अध्यक्ष थिए। नेपालमा ट्राभल एण्ड टुर्स व्यवसायलाई संस्थागत गर्ने श्रेय उनलाई जान्छ।सन् १९६८ मा नेपालमा पर्यटन विकासको ढोका खुलेको थिएन। सगरमाथा लगायत हिमालयका श्रृङ्खलाका कारण पश्चिमा देशमा नेपालको नाम पुगेपनि व्यवसायिकताले भने सुरुवातनै हुन सकेको थिएन।

उनै जिडीले ट्राभल एजेन्सी स्थापना गरे( हिमालयन ट्राभल एण्ड टुर्स। यो टुर्सको केही समयपछि भान्जा विके श्रेष्ठले नेतृत्व लिए। मामा जिडी र बिके मिलेर अरु धेरै संस्थाको सुरुवात गरे। उनीहरुको व्यवसाय मात्रै होइन घर पनिसँगै बनाए। भैसेपाटीमा जिडी र बिकेको घर जोडिएकै छ।

उनकै पहलमा नेपालमा अन्तर्राष्ट्रिय चेन होटल र्याडिसन समेत भित्रियो। विकेको गत वर्ष निधन भयो। उनी र्याडिसन होटलका प्रवन्ध निर्देशक थिए। माओवादीको जनयुद्ध सुरु भएका बेला जिडी र बिके मिलेर र्याडिसन होटल बनाएका थिए।

होटल संचालनमा आएपछि माओवादी द्धन्द्ध झन् चर्कियो। ब्लुस्टार लगायतका स्थापित होटल बन्द हुन पुगे। भर्खर खुलेको र्याडिसनले आर्थिक क्षति ब्योहोरेपनि जिडी र बिके विचलित भएनन्।र, द्धन्द्ध सकिएपछि र्याडिसनले राम्रो प्रगति गरिरहेको छ। र्याडिसनले आफ्नो क्षमता समेत विस्तार गर्दैछ।

होटल संघ नेपालका महासचिव विनायक शाहले श्रेष्ठ पर्यटन क्षेत्रका लिजेन्डरी व्यक्ति रहेको बताए।‘उहाँ पर्यटन क्षेत्रको लिजेन्डरी व्यक्तित्व हुनुहुन्थ्यो। ट्राभल तथा टुर्स व्यवसायलाई संस्थागत गर्ने व्यक्तिनै उहाँ हो’उनले भने,’उहाँको योगदान पर्यटन क्षेत्रमा अतुलनीय छ।’

पर्यटन व्यवसायी गोपाल सुन्दरलाल कक्षपतिले पर्यटन प्रवर्द्धनमा अन्तिम समयसम्म क्रियाशील रहेका श्रेष्ठले मुलुक द्धन्द्धको भूमरीमा रहेका बेला अन्तर्राष्ट्रिय स्तरको र्याडिसनको चेन ल्याएर पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए।

तपाईंको बिचार