Sunday, April 21, 2019

ठमेल परिषद्को नेतृत्वको लागि कार्यसमिति सदस्य अर्जुनलाल प्रधानको घोषणा

प्रकाशित मिति: 2019/01/20

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को यही माघ १६ गते (३० जनवरी, २०१९) २४ औं साधारणसभा सँगै हुन गइरहेको नयाँ कार्य समितिको निर्वाचनको लागि वर्तमान कार्यसमिति सदस्य तथा पेडोल अर्पाटमेन्टका सञ्चालक अर्जुनलाल प्रधानले परिषद्को नेतृत्वको लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै ठमेलमा अराजकता बढदै गइरहेकोले व्यवस्थित ठमेलको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ठमेलमा हचुवाको भरमा भेइकल फ्री जोन गरिएको र खुलाउने प्रयास पनि हावाको भरमा गरिएको छ । प्रत्यक्ष रुपमा ठमेलका व्यापार व्यवसायलाई प्रभावित पार्ने गरी गरिएको यो फ्री जोन व्यवसायीको हितकर छैन । हामी व्यवस्थित ठमेलको लागि ट्राफिक रेगुलेट गरिनुपर्छ भन्नेमा छौं । त्यसको लागि हामी परिपक्व ढङ्गमा लाग्नुपर्छ । ठमेलले लामो समयदेखि भोग्दै आइरहेको घरभाडाँ समस्या, दोहोर–कर, अव्यवस्थित ट्राफिक समस्या, सेक्युरीटि समस्या, व्यवस्थित रात्रिकालीन व्यवसाय, व्यवस्थित पार्किङ, सफा ठमेल बनाउनुपर्ने लगायतको तमाम व्यवसायिक समस्यालाई निरुत्साहित गर्नको लागि राज्यका नियमन निकायहरुसँग समन्वय गर्दै आफू अगाडि बढ्ने बताए ।
एक अर्को प्रसंगमा प्रधानले आफ्नो नेतृत्वको टिम स्वतन्त्र र व्यवसायिक हुने भन्दै व्यवसायिक स्थल ठमेललाई सुविधा सम्पन्न र सबैको ठमेल बनाउने आफ्नो अभियानलाई साथ दिनको लागि सम्पूर्ण ठमेलबासीहरुलाई आग्रह समेत गरेका छन् । म ठमेलको स्थानीयबासी हुँ ।

“म चाहन्छु ठमेलका घरधनी र व्यवसायीबीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ । यो ठमेल व्यापार गर्ने ठाउँ हो । यहाँ जोकोहीले पनि व्यापार व्यवसाय गर्न पाउनुपर्छ । त्यसैको लागि नै मेरो सशक्त उम्मेदवारी हो ।” उनले भने । हामी ठमेललाई व्यवस्थित गरेर २४ सैं घण्टा खोल्नुपर्छ भन्नेमा छौं । यसको लागि रात्रीकालिन व्यवसायलाई राज्यसँग समन्वय गराएर सुरक्षित ठमेल बनाउनको लागि लाग्नुपर्छ । ठमेलमा भइरहेको रात्रिकालीन अवस्थाको कोलाहललाई नियन्त्रण गरी सहज रुपमा पर्यटकहरुले बस्ने वातावरण सृजना गरिनुपर्छ भन्नेमा म र मेरो टिम रहनेछ । यसको अलावा हरेक शुक्रबार ठमेल कार्निभल लगायतको पर्यटकीय गतिविधिलाई एउटा तह मेन्टेन गरेर काम गरिनेछ । जसले ठमेलबासी र व्यवसायीको लागि हित हुनेछ । उनको भनाइ छ ।

 

तपाईंको बिचार