Monday, August 26, 2019

मर्स्याङ्दीमा रोकियो र्‍याफ्टिङ

प्रकाशित मिति: 2019/01/22

लमजुङ । धमाधम जलविद्युत् आयोजना बनेपछि र्‍याफ्टिङ र कायकिङका उत्कृष्ट सूचीमा परेको मर्स्याङ्दी नदीमा यस्ता गतिविधि हुन छोडेको छ ।
सानो डुंगामा बसेर एक्लै जलयात्रा (कायकिङ) का प्रतियोगिता कहिलेकाहीं हुने गरिए पनि ठूलो डुंगामा बसेर समूहमा गरिने जलयात्रा (र्‍याफ्टिङ) हुन छाडेको स्थानीय बताउँछन् । सफा पानी, आकर्षक दृश्य र उपयुक्त ठाउँका कारण विगतका वर्ष मर्स्याङ्दीमार्‍याफ्टिङ र कायकिङ दुवै हुन्थ्यो ।र्‍याफ्टिङ हुनै छाडेको र छोटो दूरीमा कहिलेकाहीं कायकिङका प्रतियोगिता हुने गरेको स्थानीय बताउँछन् ।
लमजुङको बीच भएर बग्ने मस्र्याङ्दी नदीमा एक दशकयता दुई ठूला जलविद्युत् आयोजना बनेका छन् । ०६५ मा बेंसीसहर र सुन्दरबजार नगरपालिका सीमाक्षेत्रमा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना बन्यो । २ वर्षअघि मस्र्याङ्दी गाउँपालिकामा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ बन्यो । स्थानीय होटल तथा पर्यटन व्यवसायीका अनुसार यी दुई आयोजना निर्माणपछि र्‍याफ्टिङ रोकियो । अहिले माथिल्लो मस्र्याङदी ‘ए’ को विद्युतगृहदेखि बेंसीसहरसम्मको मस्र्याङ्दी नदीलाई सुकाएर १ सय ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि अध्ययन भइरहेको छ । यहाँ जलविद्युत् निर्माण भए कायकिङ पनि रोकिने पर्यटन व्यवसायी बताउँछन् ।
उक्त जलविद्युत् निर्माण हुने भनिएको ठाउँमा गत मंसिर दोस्रो साता ‘हिमालयन हाइटवाटर च्यालेन्ज १०१८’ कायकिङ प्रतियोगिताको १७ औं संस्करण आयोजना गरिएको थियो । माथिल्लो मस्र्याङ्दी ‘ए’ को पानीलाई सुरुङमा पठाउनुपूर्व २ वर्षअघि नै ङादी क्षेत्रमा ‘मस्र्याङ्दी एक्सप्रेस एक्सट्रिम कायक च्याम्पियनसिप’ प्रतियोगिता भएको थियो । मस्र्याङ्दी गाउँपालिका ७ ङादीका होटल व्यवसायी तेजु गुरुङका अनुसार जलविद्युत् निर्माणको क्रम बढेपछि मस्र्याङ्दीमा र्‍याफ्टिङ र कायकिङ हुन छाड्यो ।
यसले पर्यटन व्यवसायलाई समेत असर परेको उनले बताए । ‘४/५ वर्षअघि हिउँदको चिसो होस् या चैत–वैशाखको गर्मीमा किन नहोस्, र्‍याफटिङ र कायकिङ दिनदिनै हुन्थ्यो । हिजोआज हुनै छाडयो,’ उनले भने । बेंसीसहरस्थित होटल तुलसी होमका सञ्चालक राधेश्याम श्रेष्ठ जलविद्युत्ले मस्र्याङ्दीको रूप बिगारेको बताउँछन् । ‘जलविद्युत्ले एक किसिमको विकास होला । सबैथोक जलविद्युत् होइन । यहाँ पर्यटकलाई टिकाउन र पर्यटनप्रवद्र्धन गर्न मस्र्याङ्दीमा डुंगा चलाउनैपर्छ, यसतर्फ स्थानीय तहले योजना बनाउनुपर्छ ।’
हिमालयन रिभर गाइड एसोसिएसन नेपालका पूर्वअध्यक्ष युवराज अधिकारीका अनुसार अक्टोबर, नोभेम्भर र डिसेम्बर साथै मार्च, अप्रिल र मे महिना जलयात्राका लागि उपयुक्त मौसम हो । जनवरीमा पनि गर्न सकिन्छ । ‘पहिले र्‍याफ्टिङ र कायकिङले मस्र्याङ्दी ढाकिन्थ्यो । जब जलविद्युत् बने । आउन छाडे’ उनले भने । उनका अनुसार कायकिङका प्रतियोगिता कहिलेकाहीं हुन्छ । र्‍याफ्टिङ भने हुनै छाडेको छ । ‘अहिले मेला महोत्सवमा ल्याएर र्‍याफ्टिङ चलाइएको छ । स्वतस्स्फूर्त पर्यटक आउन छाडे,’ उनले भने ।
उनका अनुसार पहिले जलयात्रीहरू बेंसीसहरबाट भुलभुले, ङादी पुग्थे र त्यहाँबाट र्‍याफ्टिङ गर्दै फर्कन्थे । बेंसीसहर–चामे सडक बन्नुअघि बेंसीसहरबाट भुलभुलेसम्म डुंगाहरू बोकाएर लगिने हुँदा रोजगारीको पनि राम्रै अवसर जुट्ने गथ्र्यो । केहीले स्याँगेसम्म पुगेर लामो दूरीको र्‍याफटिङ गर्थे । अहिले मनाङसम्म मोटर गुड्न थालेपछि नदीमा ठूलाठूला ढुंगा खसाइएकाले पनि जलयात्री आउन छाडेका उनले बताए ।
‘ङादीबाट सुरु भएर र्‍याफ्टिङ वा कायकिङ चितवनको नारायणगढ पुग्थे । ५ देखि ७ दिनेको प्याकेज हुन्थ्यो,’ र्‍याफ्टिङ वा कायकिङ गाइड तथा निर्णायकसमेत रहेका अधिकारीले भने, ‘तनहुँको खैरेनीमा मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण भएपछि ३ दिनमा छोटियो । लमजुङमा मध्यमस्र्याङ्दी जलविद्युत् बनेपछि यात्रा झनै छोटियो । माथिल्लो मस्र्याङदी ‘ए’ बनेपछि अलिकति मात्रै ठाउँ मात्रै बाँकी रह्यो । अब यही बीचमा अर्को जलविद्युत् बनेपछि जलयात्रा पूर्ण रूपमा बन्द हुने निश्चितप्राय छ ।’

तपाईंको बिचार