Saturday, October 19, 2019

टुर्गानको वनभोजसँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2019/01/27

काठमाडौं । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्यसमेत रहनुभएका पर्यटन विज्ञ दिपक महतले टुरिष्ट गाईडहरुलाई स्रोत व्यक्तिको उपमा दिनुभएको छ । अनिवार्य रुपमा स्नातक तह उतीर्ण गरेपछि सम्बन्धित विषय र भाषामा दख्खल व्यक्तिमात्रै टुरिष्ट गाईड बन्ने भएकाले उनीहरु सिंगो पर्यटन क्षेत्रका लागि स्रोत व्यक्ति भएको तर्क गर्दै महतले सम्बन्धित टुरिष्ट गाइडहरुले पनि अनुभवरुपी ज्ञान अरुसँग बाढ्नुपर्ने बताउनुभयो ।

टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल (टुर्गान) ले शनिबार थानकोटस्थित त्रिभुवन पार्कमा आयोजना गरेको अन्तरक्रियात्मक बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै महतले टुरिष्ट गाईडहरुले नेपाल भ्रमण वर्ष २०२० मा उनीहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन बोर्डको बजेट परिणाममूखी बनाउनका लागि सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने आवश्यकतासमेत औल्याउनुभयो ।

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का प्रथम उपाध्यक्ष अच्यूत गुरागाईंले मुलुकको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा टुरिष्ट गाईडहरु जोडिने कुरालाई ध्यानमा राखेर आफुहरु उनीहरुकै पक्षमा उभिदै आएको बताउनुभयो । टुरिष्ट गाईडहरुको क्षमता अभिबृद्धि तथा सामुहिक हितका लागि टुर्गानले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै गतिविधि अझ प्रभावकारी रुपमा अघि बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुम सुबेदीले मुलुकको हरेक सन्देश टुरिष्ट गाईडहरुमार्फत नै प्रवाह हुने भएकाले टुरिष्ट गाईडहरु संवेदनशिल भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । भूटान भ्रमणको आफ्नो अनुभव सुनाउँदै उहाँले नेपाली टुरिष्ट गाईडहरुका लागि निश्चित पोशाकको व्यवस्था गर्नुपर्ने आवश्यकतासमेत औल्याउनुभयो ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुल बहादुर गुरुङले मुलुकको पर्यटन प्रवद्र्धनका लागि टुरिष्ट गाईडहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अवैध पथप्रदर्शन रोक्नका लागि सबै एकमतका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

टुर्गानका अध्यक्ष केदार तामाङले टुर्गानले टुरिष्ट गाइडहरुको हकहितका लागि मात्रै नभएर मुलुकको पर्यटन प्रवद्र्धनार्थ विभिन्न कार्यक्रमहरु अघि बढाइरहेको बताउँदै त्यसै शिलशिलामा अन्तक्र्रियात्मक बनभोज कार्यक्रम आयोजना गरिएको बताउनुभयो । मुलुकको सम्बृद्धिको आधार पर्यटन भएकोले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि सबै लागि पर्नुपर्नेमा उहाँको जोड रहेको थियो ।

टुर्गानका संस्थापक सचिव बसन्त हमाल, गुरुङ पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष कमला गुरुङ, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का केन्द्रीय अध्यक्ष शिव अधिकारी र उपाध्यक्ष प्रकाश खालिङलगायतको उपस्थिति रहेको सो कार्यक्रमबीच लोक दोहोरी कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिहरुसमेत रहेको थियो ।

तपाईंको बिचार