Tuesday, April 23, 2019

चिनियाँ दूतावासद्वारा स्वयंसेवक परिचालन

प्रकाशित मिति: 2019/02/04

काठमाण्डौ । चिनियाँ नयाँ वर्ष सुरु भएसँगै चिनियाँ पर्यटकहरु नेपाल आउन थालेका छन् । नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरेर नेपालमा रहेको चिनियाँ दूतावासले स्वयंसेवक परिचालन गरेको छ ।

फ्रेब्रुअरी एक तारिखका दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा, नेपालका लागि चिनियाँ राजदूत होउ यान छी, विमानस्थल भन्सार, अध्यागमन विभागका महाप्रबन्धकलगायतको उपस्थितिमा विमानस्थलमा विशेष कार्यक्रम गरेर स्वयंसेवक परिचालन गरिएको हो ।

जाडो बिदामा धेरै चिनियाँ पर्यटक नेपाल घुम्न आउने सम्भावनालाई ध्यान दिएर नेपालमा रहेको चिनियाँ दूतावासले ५ जना चिनियाँ नागरिकलाई विमानस्थलमा परिचालन गरेको छ । उनीहरुलाई विमानस्थल अध्यागमनको भित्रैसम्म र  अध्यागमन कार्यालयसम्मको पहुँच सुविधा दिइएको विमानको टर्मिनल व्यवस्थापन महाशाखाका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।

‘यसपटक धेरै नै चिनियाँ नागरिक नेपाल घुम्न आउने सम्भावना रहेको भन्दै नेपालमा रहेको दूतावासले नै सहजीकरणको पहल थालेको छ, त्यसमा हामीले पनि सहयोग गरेका छौँ, विमानस्थलमा खटिने स्वयंसेवकले चिनियाँ पर्यटकलाई सहयोग गर्नेछन्’, टर्मिनल व्यवस्थापन महाशाखाका प्रमुख उत्सव खरेलले भन्नुभयो ।

विमानस्थलमा खटिएका चिनियाँ स्वयंसेवकले चिनियाँ नागरिकलाई नेपालको बारेमा बनेका पर्चा पम्प्लेट, ब्रुसरलगायतका सामग्री वितरण गर्ने, यहाँका कानुनी प्रावधानको बारेमा जानकारी दिनेलगायतका काम गर्नेछन् ।

 

तपाईंको बिचार