Monday, May 20, 2019

टुर्गानले ३० औ अन्तर्राष्ट्रिय टुरिष्ट गाइड दिवस मनायो

प्रकाशित मिति: 2019/02/21

काठमाडौं । पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले टूर गाइडहरु राष्ट्रको अवैतानिक राजदूत रहेको बताउनुभएको छ । टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) ले पर्यटन बोर्डको हलमा आज आयोजना गरेको ३० औं अन्तर्राष्ट्रिय टुरिष्ट गाइड दिवसको अवसरमा बोल्दै उहाँले टूर गाइडहरु बिना नेपालको पर्यटन प्रवद्र्धनमा कल्पनासमेत गर्न नसकिने बताउनुभयो ।

“टूर गाइड एक सम्मानित पेशा हो । त्यही अनुरुपमा अगाडि बढाउनुपर्छ ।”  उहाँले भन्नुभन्यो, तालिम प्राप्त, कम्तिमा स्नातक उत्तीर्ण गरेका र विभिन्न अन्तर्राष्ट्रिय भाषाको ज्ञान भएको व्यक्तिलाई मात्रै टुरिष्ट गाइड बनाउनुपर्छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दिपक महतले क्रियाशील र गतिशील ढंगले अगाडि बढिरहेको संस्था टुर्गानलाई समय सापेक्ष रुपमा टूर गाइडहरुलाई क्षमता अभिवृद्धि गराउने कार्यक्रमहरु उपलब्ध गराउनुपर्ने बताउनुभयो । त्यसै पर्यटन विकासमा टूर गाइडहरुको भूमिका सराहनीय रहेको पनि उहाँले भन्नुभयो ।
त्यसैगरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक दुर्गा दत्त ढकालले नाथम, नाट्टा र टुर्गान मिलेर सम्पूर्ण टूर गाइडहरुलाई क्षमता अभिवृद्धि तालिम, पहिचान झल्कने ड्रेस कोड राख्न टुर्गानलाई आग्रह गर्नुभयो । साथै नेपाल भ्रमण वर्ष २०२० मा टूर गाइडहरु अपुग भएमा वा आवश्यकता परेको खण्डमा नयाँ टूर गाइडको तालिम दिनमा पछि नहट्ने पनि बताउनुभयो ।

टे«किङ एजेन्सी एसोसियन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले स्वागत मन्तव्य दिंदै टुर्गानले नेपालको पर्यटन प्रवद्र्धनमा अत्यन्तै राम्रो कामहरु गर्दै गरेको र अगामी दिनमा पनि यस्तै कार्यको अपेक्षा राखेको बताउनुभयो ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्यूत गुरागाईले टूर गाइडहरुलाई पनि डे«स कोडको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) का अध्यक्ष केदार तामाङले अन्तर्राष्ट्रिय टुरिष्ट गाइड दिवसको दिनलाई नेपाल सरकारले अन्तर्गत पर्यटन मन्त्रालयले महाउत्सवको रुपमा लिनुपर्ने भनी त्यस दिन टुरिष्ट गाइडहरुलाई छुट्टीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । ३ सय ६५ दिनै आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठी पर्यटकको सेवा गरी नेपालको पर्यटन प्रवद्र्धन र विस्तारमा लागिपर्ने टूर गाइडहरुले अन्तर्राष्ट्रिय जगतमा समाज र राष्ट्रको बारेमा पर्यटकमार्फत सकारात्मक सन्देश प्रवाह गरी राष्ट्रलाई चिनाउने काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र त्यसलाई सफल पार्नको निमित्त टूर गाइड, पर्यटन व्यवसायी र सरकार एकतावद्ध भई अगाडि बढ्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा टूर गाइडहरु तुल्सीदास मान्नधर, सुमन सुवेदी भट्टाराई, कमल त्रिपाठी, अनल शमा, रविनराज गिरी, नारायण ओझा र नुतन जंग कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा भिटोफ नेपालका पूर्व अध्यक्ष कमल सापकोटा, गुरुङ पर्यटन व्यवसाय संघका अध्यक्ष कमला गरुङ, भक्तपुर पर्यटन विकास कमिटिका अध्यक्ष राम सुन्दर भेलेलगायत पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

 

तपाईंको बिचार